काठमाडाैं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले नयाँ विमानस्थल थप्नु भन्दा भएका विमानस्थललाई सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद् भट्टराईले आवश्यकता र औचित्यका आधारमा मात्रै नयाँ विमानस्थलबारे निर्णय लिन सरकारलाई सुझाव दिनुभयो ।
सरकारकाे नीति तथा कार्यक्रम र बजेट हेर्दा नचाहिँदो ठाउँमा विमानस्थल थप्न खोजिएको देखिएकाे भन्दै उहाँले भएका आन्तरिक विमानस्थलको स्तरोन्नतिमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । देशमा रहेका ५५ विमानस्थलमध्ये अझै केही सञ्चालनमा नरहेको भन्दै सांसद् भट्टराईले नयाँ थप्ने भन्दा पनि सञ्चालनमा नरहेका विमानस्थललाई सञ्चालन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
ताप्लेजुङकाे सुकेटार, संखुवासभाकाे तुम्लिङटार, साेलुकाे लुक्ला, मुस्ताङकाे जाेमसाेम, डाेल्पाकाे जुफाल, हुम्लाकाे सिमीकाेट र मुगुकाे ताल्चा विमानस्थल पर्यटकीय दृष्टिकाेणले महत्वपूर्ण रहेकाे भन्दै उहाँले तिनीहरुलाई थप सुविधासम्पन्न बनाइनुपर्ने बताउनुभयाे ।
भरतपुर, सुर्खेत र तुल्सीपुर विमानस्थललाई स्ताेराेन्नति गर्नुपर्ने सांसद् भट्टराईले बताउनुभयाे । भैरहवा र पाेखरा पर्यटीकय गन्तव्य भएका ठाउँमा विमानस्थल भएकाले ति दुवै विमानस्थल चलाउनुपर्ने बताउनुभयाे ।
निजगढ विमानस्थल बनाउनैपर्ने पनि सांसद् भट्टराईले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'त्रिभुवन विमानस्थलमा ९० लाख यात्रु अर्को वर्ष पुगिहाल्छ, अहिले ९० वटा जति उडान छ, कोभिड अगाडि हामी ११० देखि ११५ वटा उडान गरेका थियाैं, अर्को वर्ष ११०-११५ उठान हुनेबित्तिकै काठमाडौं एयरपोर्ट स्याचुरेटेड हुन्छ, आज ट्रफिक जाम लगायत समस्याहरू छन्, तल पार्किङको ठाउँ छैन, त्यसकारण यसको विकल्प निजगढ बाहेक अर्को कुनै पनि छैन निजगढ विमानस्थल बनाउनैपर्छ ।'
वायु सेवा निगमकाे संरचनागत सुधार बाहेक अर्काे कुनै उपाय नभएकाे भन्दै सांसद् भट्टराईले निगम अहिले हिमाल सिमेन्ट कारखानाजस्तो अवस्थामा पुगिसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाल वायु सेवा निगम अहिले एक किसिमले हिमाल सिमेन्ट कारखाना जस्तो अवस्थामा पुगिरहेको छ, हिमाल सिमेन्ट कारखाना अहिले बन्द भयो, त्यहाँका कर्मचारीहरु अहिलेपनि फाटेको कपडा, फाटेको चप्पल लगाएर तलब माग्दै हिँडिरहनुभएको छ, यदि याे वायुसेवा निगमलाई संरचनागत हिसाबले सुधार नगर्ने हाे भने त्यसकाे हालत यही हुन्छ ।'
एमाले सरकारले सर्वसाधारणले पनि सेयर पाउननेगरी वायु सेवा निगमलाई पब्लिक कम्पनीमा भन्ने निष्कर्षसाथ प्रक्रिया अगाडि बढाएकाे स्मरण गर्दै उहाँले यसलाई प्रब्लिक कम्पनीमा लैजानुपर्ने बताउनुभयाे ।
नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्यान्डेलिङबाट केही पैसा पाउने भन्दै सांसद् भट्टराई आम्दानीको स्रोत भनेकै ग्राउण्ड ह्यान्डेलिङ भएकाे बताउनुभयाे । निगमलाई उडानबाट नाफा नभएकाे पनि उहाँले बताउनुभयाे ।
०७४ सालमा केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि ०७७ साल फागुन ५ गतेसम्म एक जना पनि कर्मचारी भर्ती नभएका भन्दै सांसद् भट्टराई अहिले सयाैं कर्मचारी वायुसेवा निगममा भर्ती भएका बताउनुभयाे । घाटामा गएकाे निगमलाई कर्मचारी भर्ना गरेर साेमालियाकी आमा जस्ताे बनाइएकाे बताउँदै उहाँले भन्नुभयाे - 'जुन आमाकाे दूध आउँदा उसकाे दूध चुसे जस्तै, नेपाल वायु सेवा निगममा कर्मचारी भर्ना गर्नु भनेकाे आमाकाे रगत चुसेजस्तै हाे, खानु जस्तै हाे, म त्यसकाे निन्दा गर्छु ।'
चाइनिज जहाका कारण अर्बाैं नाेक्सानी भएकाे भन्दै उहाँले बिग्रेका जहाजकाे व्यवस्थापनकाे कुनै याेजना नल्याइएकाे बताउनुभयाे । निगममा अनावश्यक कर्मचारी भर्ना गरिएको र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नाफाको विषयमा गलत तथ्यांक प्रस्तुत गरेको उहाँले बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'मन्त्रीज्यूले ४ अर्ब नाफा भएकाे भन्नुभएकाे छ, साँवा र ब्याज गरेर ५० अर्ब नाघमिसक्याे, कहाँबाट उहाँले अर्ब नाफा गर्नुभयाे, साँवा ब्याज जितेर साँच्चै ४ अर्ब नाफा भएकाे हाे भने माननीय मन्त्रीज्यूलाई माला लगाएर अभिनन्दन गरे हुन्छ, तर डाटाले त्यस्ताे देखाउँदैन, गलत तथ्यांक भ्रममा नपाराैं ।'
राेटिबेटीकाे नाता भनेर भन्ने भारतले हवाई प्रतिबन्द लगाउन मिल्छ भन्दै सांसद् भट्टराईले प्रश्न गर्नुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला हवाई रुटबारे स्पष्ट कुरा गर्न नसकेकाे बताउनुभयाे । प्रतिपक्षलाई भारत भ्रमणका लगेकाे भए हवाई रुटबारे प्रतिपक्षले स्पष्ट कुरा गर्थ्याे भन्ने पनि उहाँले बताउनुभयाे ।
