काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले देशकाे अर्थतन्त्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य बाेल्नुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाको दोस्रो बैठकमा गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शिर्षकमाथिकाे छलफलमा बाेल्दै उहाँले नेतृत्वले अप्रिय र तिताे भएपनि सत्य बाेल्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'असल नेतृत्वकाे एउटा पाटाे भनेकाे, अप्ठेराे भएपनि अप्रिय भएपनि, तिताे भएपनि सत्य बाेल्ने हाे ? र त्याे सत्यकाे आधारमा एउटा दिशा दिने हाे नेपालकाे अहिलेकाे आर्थिक अवस्थाबारे प्रधानमन्त्रीज्यूले सत्य बाेल्नुपर्याे ।'
विपद् व्यवस्थापनका लागि सरकारकाे पूर्वतयारी नै नदेखिएकाे सांसद श्रेष्ठले बताउनुभयाे । पश्चिम नेपालमा भुकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको बताउनुभयाे । विपद् पोर्टल पालिका स्तरमा पुर्याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयनमा चुनाैती देखिएकाे उहाँले बताउनुभयाे । 'विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरु पर्याप्त भएन, यो बजेटको कार्यक्रममा त्यो देखिएको छैन, पश्चिम नेपालमा ठूलो भुकम्प जान्छ भनेर धेरै विज्ञहरुले भनिसकेका छन् त्यसको लागि मैले यो बजेटको कार्यक्रममा देखिनँ'-सांसद् श्रेष्ठले भन्नुभयाे ।
विपद्का बेला मन्त्रालयहरुबीच तालमेल मिलाउन डिजाईनले मात्रै नपुग्ने भन्दै उहाँले यसका लागि ५० लाख छुट्टयाइएको तर पालिकामा टेक्नोलोजी गएर जनशक्ति पुगेन भने गन्तव्यमा पुग्न नसकिने प्रष्ट पार्नुभयाे ।
ट्राफिक पुलिसहरुमा सन् २०२२ मा एउटा अध्ययन भएकाे र त्यस अध्ययनले उहाँहरुको मानसिक स्वास्थ्यको स्थिति भयावह रहेकाे देखाएकाे भन्दै सांसद् श्रेष्ठले यसमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
हेलो सरकार कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'हेलो सरकार, २०६७ सालमा आएको यो कार्यक्रमले धेरैलाई सहयोग पुगेको थियो, एउटा ठाउँ त छ नि राज्यलाइ गुहार्न सक्ने भन्ने एउटा ठाउँ थियो, त्यसका लागि जम्मा १० लाख विनियोजन गरिएको छ, त्यसले पुगेन, यसलाई पहिला जस्तै सशक्त बनाउनुपर्याे ।'
