काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देश बर्बाद हुँदा पनि सरकार मोजमस्तीमा रमाइरहेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै प्रमुख सचेतक गिरीले देशकाे अर्थतन्त्र इतिहासकै खराब अवस्थामा पुगेकाे बेला सरकारले अनावश्यक कर्मचारी भर्ना गरेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'दूधे बालकलाई हजुरबा हजुरआमाकाे जिम्मा लगाएर आमा जहाज चढेर जाँदाखेरी भक्कानिएर राेएका दृश्य हाम्राे अगाडि छन्, यस्ताे स्थितिमा देशकाे अर्थतन्त्र जाँदैछ, देशकाे परिस्थिति यस्ताे छ, त्याे बेरोजगारीलाई अन्त्य कसरी गर्ने, अर्थतन्त्रलाई कसरी लयमा फर्काउने, उद्याेग व्यवसायलाई कसरी लयमा ल्याउने यतातर्फ सरकारको ध्यान पटक्कै छैन, रोम सहर जल्दा निरोले बासुरी बजाएर आनन्द लिएजसो, देश बर्बाद हुँदैछ, तर सरकार मोजमस्तीमा रहेको छ ।'
राष्ट्रपति कार्यालय अनावश्यक कर्मचारी भर्ना गरिएकाे र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएकाे भन्दै प्रमुख सचेतक गिरीले आपत्ति जनाउनुभयाे ।
चाहिने भन्दा बढी सेवा सुविधा दिएर राष्ट्रपति कार्यालयमा कर्मचारी नियुक्त गरिएकाेमा आपत्ति जनाउँदै उहाँले भन्नुभयाे - 'आज राष्ट्र्पति कार्यालयमा यति धेरै कर्मचारीहरु, सल्लाहकार थपिएकाे छ, उनीहरुलाई सेवा सुविधा व्यापक बढाइएकाे छ, राष्ट्रपति कार्यालय कार्यकारी हाे कि कस्ताे खालकाे कार्यालय हाे ? सेवा सुविधा बढाउनुपर्ने ? यस्ताे फाल्तु ढंगले राज्यकाे खर्च गरिएकाे छ ।'
प्रमुख सचेतक गिरीले करिब ७९ जना कर्मचारी भर्ना गरेर प्रधानमन्त्री सचिवालयको नाममा राज्यको अरबौं रकम सकिएको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा १४ जनाको दरबन्दी छ, त्यहाँ १४ जनाकाे त्यहीँ छ, स्वकीय सचिवालयमा ३४ जनाको जम्बो टिम छ, सल्लाहकार सचिवालयमा ४ जना भनिएको छ, त्यहाँ १३-१४ जना छन्, करिब ७९ जना त सचिवालय भनेर प्रधानमन्त्री कार्यालयकाे वरिपरि घुमेका छन्, काम के छ भन्ने हाे भने अघि प्रधानमन्त्रीले राेस्टममा जवाफ दिने बेला मेराे तयारी पुगेनछ भन्नुभयाे, भनेपछि कति निकम्मा छ ?'
कार्यकर्ता भर्ती केन्द्रका रुपमा प्रधानमन्त्रीकाे कार्यालय रहेकाे भन्दै प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'यसरी राष्ट्रकाे अर्बाैं बजेट तिनलाई गाडी, घोडा, इन्धन, अनेक व्यवस्था गर्दा राष्ट्रकाे अर्बाैं रकम सकिएको छ।'
