काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद् रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयक, २०८० माथिकाे छलफलमा बोल्दै सांसद् महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हाम्राे सिमाना दिनप्रतिदिन मिचिरहेको छ, पहिला त्यस्तो स्थिति थिए, आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँ कहीँ नापीका हाकिमहरू त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ, हिजो मैले के, कसरी सही गरेँ उहाँहरूलाई थाहा हुँदैन, त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन ।'
पहिला-पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नाप जाँच नेपाली सेनालाई जिम्मा रहेकाे भन्दै उहाँले यसमा पुनः विचार गर्न सरकारसँग माग गर्नुभयाे ।
नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्ने सांसद् महासेठले बताउनुभयाे । नेपाली सेनालाई २१ औं शताब्दी अनुसार आधुनिकीकरण गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'उहाँहरूलाई उहाँहरूसँग सम्बन्धित उद्योग, व्यापार बाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन, पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरूलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरूलाई हतियारतर्फ पनि सरकारले ध्यान दिनुपर्छ ।'
कारगार यातना गृह जस्ताे भइरहेकाे भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने सांसद् महासेठले बताउनुभयाे । विभेदकारी बजेट संशाेधन बिना पास हुन नसक्ने पनि उहाँले बताउनुभयाे ।
