काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले देशको अर्थतन्त्र अवस्था खराब अवस्थाबाट गुज्रिरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथिकाे छलफलमा बाेल्दै उहाँले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताउनुभयाे ।
देशकाे आर्थिक प्रणालीमा विराेध र समर्थन जे भएपनि आर्थिक अवस्था सुधारका लागि सबै एक हुनुकाे विकल्प नभएकाे सांसद् पाैडेलले बताउनुभयाे । देशको आर्थिक अवस्था सुधार गर्नका लागि सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता रहेकाे उहाँले बताउनुभयाे ।
'प्रतिपक्ष र सरकार पक्षको विरोध र समर्थनका विषय होलान्, १६५ निर्वाचन क्षेत्रमध्ये कहाँ-कहाँ कसका बजेट परे-परेनन् भनेर आलोचनाको विषयले हेर्दा यहाँ उठेका त्यस प्रकारका तर्कहरुलाई सम्बन्धित मन्त्रालयले सुन्नुपर्छ, तरपनि आर्थिक अवस्था देशको जुन छ, त्यो अवस्था सुधार गर्नको निमित्त हामी सबैले संकल्प गर्नुपर्ने साझा विषयको रुपमा, आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सामूहिक संकल्पको साझा विषयको रुपमा हामी पक्ष र प्रतिपक्षमा बाँडिने अवस्था साँच्चिकै देशमा छैन, देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त हामी सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता छ'- सांसद् पाैडेलले बताउनुभयाे ।
बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको भन्दै उहाँले समेट्नुपर्ने कुराहरु कानुनी हिसाबले सच्याएर भएपनि राख्नुपर्ने बताउनुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'हामीले यो राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि लिएर राज्यका साधारण खर्च जहाँ जहाँ नगर्दा पनि हुने प्रकृतिका छन्, त्यसप्रकृतिका कतिपय खर्चलाई कम गर्नेगरी अघि बढ्ने सुरुआत गरेको खण्डमा हामीले अलिकित बजेटको संरक्षण गरेर विकासतिर अघि बढ्न सक्छौँ, त्यसको निम्ति उपराष्ट्रपति कार्यालयमा पनि भएका कतिपय त्यसप्रकारका विषयहरु छन् भने हामीले यसलाई सच्याएर जानुपर्छ ।'
१६५ निर्वाचन क्षेत्रमा तत्काल गर्नुपर्ने काम, बजेट रह्याे भने खर्ने काम र गर्नुपर्ने कामकाे सूची बनाएर काम गर्न उहाँले सुझाव दिनुभयाे । राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरुको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको समेत सांसद् पाैडेलले बताउनुभयाे ।
राेजगार र सुशासनकाे क्षेत्रमा रकमलाई प्राथमिकता दिन अरु क्षेत्रका चुहावटलाई राेक्नुपर्ने उहाँले बताउनुभयाे । आर्थिक वृद्धिदर चुनाैतीपूर्ण रहेकाे सांसद् पाैडेलले बताउनुभयाे । 'तथ्यांकले सार्वजनिक गरेको रिपोर्टअनुसार बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने छ, यो भनेको सत्तापक्षको कुरा मात्रै होइन, प्रतिपक्षी, सम्पूर्ण नागरिक र अहिलेको आर्थिक प्रणालीको देशको चित्र हो, हामी २.१६ मा सीमित रहने कुरा हाम्रा विज्ञहरु प्रक्षेपण गरेका छन्, हामीले सरकारले अनुमान गरेको भन्दा ५.८४ प्रतिशत यो कम हाे, मूल्यमा जीडीपी १.८६ प्रतिशतले जो देखिएको छ यो कम हो, दातृ संस्थाहरुले प्रक्षेपण गरेको भन्दा १.९४ प्रतिशत आर्थिक वृद्धिदर हाम्रो कम हुने देखिन्छ, यो हाम्रो राज्यको साझा हामी सबैको चुनौतीको रुपमा छ'- उहाँले भन्नुभयाे ।
