राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथिकाे छलफलमा बाेल्दै सांसद् झाले उपराष्ट्रपति पदकाे औचित्य नै नभएकाे बताउनुभयाे ।
उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'रास्वपाले अहिलेकाे संवैधानिक व्यवस्था नकार्न खाेजेकाे हाेइन, यसलाई सम्मान गर्छाैं र अभ्यास गर्छाैं, हामीले आफ्नाे सुझाव राख्न त पाउँछाैं नि, हामी यो पदको परिकल्पना गर्दैनौँ, हामी यो पद आवश्यक छैन भन्छौँ र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्न सक्छ भन्छौँ ।'
उपराष्ट्रपतिकाे काम राष्ट्रिय सभा अध्यक्षले गर्न सक्छ भनेर अग्नी खरेल नेृत्वकाे कार्यदलले सुझाव दिएकाे स्मरण गराउँदै सांसद् झाले राजनीतिक पद सृजना गरेर पद व्यवस्थापन गर्न नमानेकाे हुनसक्ने बताउनुभयाे ।
अहिलेसम्म नियुक्त भएका उपराष्ट्रपतिले गरेका र गर्नैपर्ने कुनै कुरा नदेखिएकाले याे पदबारे विचार गर्नुपर्ने उहाँले बताउनुभयाे । 'उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ, ४ वटा कार्यकाल ३ वटा अनुहार, त्यो हेर्दै गर्दाखेरी सम्झिन लायकको कुराहरु के छ त ? याे ५ हजार ११५ दिनले यो पदले दिएकाे कुनै ५ वटा कुरा हामी सम्झिन सक्छौँ ? यसले दिएको हामीलाई ? त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ, त्यसैले गर्दापनि हामीले सोच्नुपर्छ'- सांसद् झाले बताउनुभयाे ।
नागरिककाे करकाे दुरुपयाेग हुन नहुने भन्दै उहाँले अनावश्यक रहेकाे पद हटाउनुपर्ने सुझाव दिनुभयाे । अहिले उपराष्ट्रपतिलाई विदेशी नियाेगकाे वार्षिक दिन र संवैधानिक दिनमा गएर सहभागी हुने अधिकार मात्रै संविधानले दिएकाे बताउनुभयाे ।
