काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताउनुभएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयकाे बजेटमाथि सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले सेनाको संख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकताका आधारमा विश्लेषण गर्न सान्दर्भिक हुने बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको संख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारले निर्धारण गर्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो । संविधानप्रति प्रतिवद्ध एक नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको बताउँदै उहाँले भन्नुभयाे - 'त्यसैले हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु ।'
विश्वको बदिलँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ-आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराको सामना गर्नुपरेको उहाँले बताउनुभयाे ।
जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्राकृतिक विपत्ति र महामारीको प्रकोपका कारण पनि सुरक्षा चुनौती थपिँदै गएकाे अवस्थामा सुरक्षा चुनाैती सम्बोधन गर्न राष्ट्रिय सुरक्षा नीति स्वीकृत भइ कार्यान्वयनमा रहेको उपप्रधानमन्त्री खड्काले बताउनुभयाे ।
राष्ट्रिय सुरक्षाको सामनाका लागि बृहत्तर राष्ट्रिय दृष्टिकोबाट अगाडि बढ्नु अपरिहार्य रहेको उहाँले बताउनुभयाे । राष्ट्रिय सुरक्षा नीति जस्ताे कुरामा सबै समान धारणा हुनुपर्ने बताउनुभयाे ।
उपप्रधानमन्त्री खड्काले तराई-मधेशसँग छोटो दूरीमा जोड्ने द्रुतमार्ग आयोजनालाई अघि बढाउन सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षकाे जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति २३.४५ र वित्तीय प्रगति २५.४ प्रतिशत रहेको र आयोजनामा हालसम्म ४४ अर्ब ९० करोड खर्च भइसकेको बताउनुभयो ।
सेनालाई आवश्यक पर्ने सैनिक समाग्री स्वदेशमा नै उत्पादन गर्ने प्रक्रिया अघि बढाइसकेको पनि मन्त्री खड्काले बताउनुभयाे । प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि सरकार सकारात्मक रहेकाे उहाँले बताउनुभयाे । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक सदनमा पेस गर्ने प्रकियामा रहेकाे मन्त्री खड्काले बताउनुभयाे ।
