काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन चाँडै अघि बढ्ने बताउनुभएको छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा संघीय मामिला मन्त्रालयकाे बजेटमाथि सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री मोदीले संविधान अनुसार प्रशासनलाई अघि बढाउनका लागि संघीय निजामती सेवा ऐन चाँडै अघि बिढ्ने बताउनुभयाे ।
अहिले उक्त ऐन परामर्शका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा रहेकाले परामर्शसहित प्राप्त भएपछि सदनको चालु अधिवेशनमा नै पेस गर्ने उहाँले बताउनुभयो । मन्त्री मोदीले संघीय निजामती सेवा ऐनमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा कार्यदल समेत गठन भएको बताउनुभयाे ।
उहाँले सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको, सुगम स्थानमा मात्रै बस्ने र दुर्गममा नजाने कर्मचारीको व्यवस्थापनका लागि एक कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।
मन्त्री मोदीले चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालयको बजेट घटेर आएकाले माग अनुसार कार्यक्रम तर्जुमा गर्न कठिन भएको बताउनुभयो ।
