काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित भएको स्वीकार गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा पर्यटन मन्त्रालयकाे बजेटमाथि सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री किराँतीले बजेटले सुख बाँड्नुपर्नेमा दु:ख बाँडेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'बजेटसँगै खुशी पनि बाँडियाे भन्ने लागेकाे थियाे, तर बजेटसँगसँगै दु:ख बाँडिएछ, जहाँ याेजना पर्याे त्यहाँ बजेट कम भएर साथीहरु रिसाउनुभएकाे छ, जहाँ याेजना परेन त्यहाँ खुशी हुने कुरै भएन, सबैकाे भावना दुखेकाे देखेर हामी झनै महादु:खी भएका छाैं ।'
मन्त्री किराँतीले बजेटको सिलिङ नभएका कारण सांसद्हरुले दिएका धेरै योजना समेट्न नसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सानाे नीति तथा कार्यक्रमकाे किताबमा सबै अटाएनन्, अटाएकाे कुराकाे पनि बजेटकाे सीमाकाे कारणले कार्यक्रममा ढल्नै सकेन, सदाझै यसपटक मन्त्रालयकाे सिलिङ बजेटकाे व्यवस्था भएन, हाम्राे मन्त्रालयमा जिराे थियाे सिलिङ बजेट, पुरातत्व र पर्यटन विभागमाथि हामी भर पर्नुपर्याे, धेरै याेजनाहरु अटाउनै सकिएन, सबैकाे चित्त बुझाउन सकिएन, बाटो छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीकाे, स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएकाे छ, त्यसकाे निम्ति म क्षमाप्रार्थी छु ।'
नेपालमा विकासकाे माेडालिटी सच्याउनैपर्ने भन्दै मन्त्री किराँतीले संघीयताको मर्म र भावनाअनुसार योजनाको वर्गीकरण र प्राथमिकरण गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'केन्द्रबाट १ लाख देखि ५ लाखसम्म बजेट लगाइदिएपछि विकास कसरी सम्भव छ ? १ कराेडलाई ५-५ गरेर २० वटा याेजनामा एउटै बक्सभित्र हाल्नुपर्ने वाध्यता, संघीय सरकार र विभागबाट टेण्डर गरेर कार्यान्वयन गर्नुपर्ने हाम्राे कानुन, केन्द्रबाट टेण्डर गरेर ताप्लेजुङमा ५ लाखको काम गर्न जानु र दार्चुलामा काम गर्न जाँदा त्यो भन्दा बढि त जाँदै खर्च हुन्छ, त्यसकारण विकासकाे याे माेडालिटीबारे ध्यानाकर्षण गर्छु ।'
नयाँ हवाई रुटबारे भारत र नेपालका प्राविधिकहरूले संयुक्त रुपमा अध्ययन गरिरहेका मन्त्री किराँतीले जानकारी दिनुभयाे । नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको दाबी गर्दै उहाँले जहाज खरिद आफ्नाे निजी स्वार्थको विषय नभएकाे बताउनुभयाे ।
पशुपति क्षेत्र विकास कोषको गुरूयोजना स्वीकृत भएको जानकारी दिँदै उहाँले पशुपतिनाथको जलहरीको विषयमा भने अख्तियारले छानबिन गरिरहेकाे बताउनुभयाे ।
नेपालकाे संस्कृति र प्रकृतिकाे समायाेजनबाट स्थानीय स्वाद र स्वामित्वसहितकाे नेपाली पर्यटन हुनुपर्नेमा आफूहरुले जाेड दिएकाे मन्त्री किराँतीले बताउनुभयाे ।
