काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पशुपतिनाथ मन्दिरकाे जलहरी प्रकरणलाई राजनीतिकरण गर्न खाेजिएकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्ताैलाले एमालेकाे शक्ति, सामार्थ्य र प्रभाव देखेर प्रतिपक्षीहरु आत्तिएका बताउनुभयाे । एमाले नेतृत्वकाे लोकप्रियतासँग डराएर सत्तापक्षले जनतामा भ्रम छरिरहेको उहाँले बताउनुभयाे ।
पशुपतिकाे जलहरी प्रकरणकाे विषयमा राजनीति घुसाउन खाेजिएकाे सचेतक बर्ताैलाले बताउनुभयाे । 'पूर्व प्रधानमन्त्री लगायतको नाम लेखियो भन्ने कुरा पूर्वाग्रहप्रेरित हो, केपी ओलीको जुन खालकाे लोकप्रियता छ, उहाँप्रति राष्ट्रले जुन भरोसा गरिरहेको छ, जनताले जुन प्रकारले विश्वास गरिरहेकाे छ, जनताले उहाँकाे नेतृत्व खाेजिरहेकाे छ, त्यसको विरुद्धमा यो आएको हो, सानदार प्रतिपक्षकाे भूमिकाबाट आफूलाई प्रस्तुत गरिरहँदाखेरी एमालेमाथि सारा शक्ति लाग्नुकाे कारण के हाे भन्दा, एमालेकाे शक्ति, सामार्थ्य र प्रभाव देखेर हाेइन ? यसमा राजनीतिक घुसाउन खाेजियाे, विश्वका हिन्दू धर्माबलम्बीकाे आस्थाकाे प्रतिकमाथि कुनै न कुनै हिसाबले प्रहार गर्न खाेजिएकाे छ'- उहाँले भन्नुभयाे ।
पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक रहेको उहाँले प्रष्ट पार्नुभयाे । 'नाम हुनु सामान्य प्राविधिक कुरा हाे, यस्ताे सामान्य कुरा अल्झिएर एउटा पूर्वप्रधानमन्त्रीमाथि टिप्पणी गर्नु गलत हाे, मेराे पनि दर्जनाैं ठाउँमा नाम लेखेर टाँसिएकाे छ, मैले कुनै भवनकाे उद्घाटन शिलान्याश गरेँ भने ताम्रपत्रमा मेराे नाम हुन्छ, किनकी म अहिले सांसद् छु'- सचेतक बर्ताैलाले भन्नुभयाे ।
एमालेका काेही पनि नेता देश विरुद्ध र सार्वजनिक सम्पत्तिकाे दाेहनमा नलागेकाे भन्दै उहाँले यदि कसैले गलत गरेकाे भए कसैकाे बचाउ नगरिने बताउनुभयाे । नबिगारेकाले नडराउने भन्दै सचेतक बर्ताैलाले पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको भए बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयाे । एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको पनि उहाँले प्रष्ट पार्नुभयाे ।
जलहरी प्रकरण छानबिनमै रहेकाले सत्यतथ्य आएपछि बाेल्ने बताउनुभयाे । नापताैल गर्न र सुन, पित्तल र चाँदी के हाे भन्नेबारे छानबिन गर्नुपर्छ भनेर एमालेले नै आवाज उठाएकाे बताउनुभयाे ।
