काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्याङ्क कार्यालय खारेज गर्ने कुरा लोकतन्त्रको विधि प्रक्रिया विपरीत रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकका बोल्दै थापाले निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको एउटा शाखाको रूपमा राख्ने निर्णय गलत भएको भनेर पटक पटक अर्थ मन्त्रीको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको बताउनुभयो । ‘धरै पटक भन्यौँ तर यो सुनुवाइ भएन’, थापाले भन्नुभयो ।
निर्वाचन कार्यालय खारेज गर्ने निर्णय निष्पक्ष निर्वाचनको मर्म विपरीत हरेको उहाँले बताउनुभयो । यो गलत छ, यो लोकतन्त्र विरोधी छ, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको सुनिश्चितता र प्रत्याभूतिको मूल मर्म विपरीत छ, यस कुरालाई नसच्याएसम्म अरू कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ’, उहाँले भन्नुभयो ।
बेकारका कुरालाई सदनले लगाम लगाउनु पर्ने उहाँले बताउनुभयो । निर्वाचनको कामलाई सीडीव कार्यालयको छायाँको रूपमा नगर्न उहाँले आग्रह गर्नुभयो ।
यस विषयमा सभामुखले रुलिङ गर्नुपर्ने र अर्थ मन्त्रीले प्रष्ट पार्नुपर्ने उहाँले बताउनुभयो । ‘तब मात्रै सदनको कारबाही अगाडि बढ्छ’, उहाँले भन्नुभयो ।
