काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन र सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्न राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लामा काम गरिरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठ तराइमा भूमिहीन कमैया र काठमाडौंमा स्ववासीको समस्या रहेको बताउनुभयो । ‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दा पनि अचम्म लाग्छ, यद्यपि काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरू धेरै छन्, काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन’, उहाँले भन्नुभयो ।
श्रेष्ठले पुस्तौँदेखि घर बनाएर बस्दै आएकाको अझैसम्म जग्गाधनी पुर्जा नभएको बताउनुभयो । उहाँहरूलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अघि बढेको श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले सहकारी पीडितहरू आफ्नो पैसा फिर्ता नपाएको कारण आन्दोलित भएका बताउँदै श्रेष्ठले उहाँहरू धर्नामा रहेका जानकारी दिनुभयो । आफ्नै पैसा पाउन पनि उहाँहरूले आन्दोलन गरिरहनु परको उहाँले बताउनुभयो ।
सहकारी संस्थालाई कसरी दिगो र बलियो बनाउने सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन, अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकिएको उहाँले जानकारी दिनुभयो ।
