काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक र नैतिक रूपमा वर्तमान सरकारको वैधता समाप्त भएको बताउनुभएकाे छ ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्ताैलाले सरकारका अर्थमन्त्रीले रोष्टममा उभिएर जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु त्रुटिपूर्ण भयो भनेर बजेट संशोधन गरेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'छलफलकाे पक्रिया चल्दाचल्दै, मन्त्रीहरुले जवाफ दिने काम जारी छ, तर सरकारका अर्थमन्त्रीले आफूले ल्याएकाे कार्यक्रम त्रुटिपूर्ण भयाे, गल्ती भयाे भनेर फिर्ता लिनुभयाे, त्यसकारण उहाँले बजेट सच्याउनुभयाे, संशाेधन भयाे, राजनीतिक र नैतिक रुपमा याे सरकार आजैका दिनदेखि ढलेकाे छ ।'
सरकार सधैं बहुमतमा हुने हुँदा बजेट जस्ताको तस्तै पारित गर्ने सामर्थ्य राख्नुपर्ने भन्दै सचेतक बर्ताैलाले बजेटमाथि संशोधन भएपछि संवैधानिक हिसाबले पनि सरकारको वैधता नहुने बताउनुभयाे ।
सरकारले आफूलाई नैतिक र राजनीतिक हिसाबमा प्रस्तुत गर्न चाहन्छ भने उसले बजेमार्फत कमजाेरी गरेकाे स्विकार गर्याे त्यसकारण सकारको वैधता आजकाे दिनदेखि समाप्त भएकाे उहाँले बताउनुभयाे ।
पहिलाे बैठकमा एमाले र रास्वपा निर्वाचन आयाेग खारेज गर्ने निर्णय विरुद्ध सदन अवरुद्ध गरेपछि बसेकाे दाेस्राे बैठकमा स्पष्टिकरण दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयाेग खारेज नहुने बताउनुभएकाे थियाे ।
