काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानासँग नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ ।
चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको संसदीय प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारमा उपसभामुख रानाले भेटवार्ता गर्नुभएको हो ।
भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पुरानो र घनिष्ठ भएको बताउनुभयो । दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूल, जडीबुटी लगायत कृषि उत्पादनहरू अर्ग्यानिक र उत्कृष्ट हुने भन्दै उपसभामुख रानाले नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म बिस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताउनु भयो । जडीबुटी चिनिया बजारसम्म विस्तार गर्न सके चीनका नागरिकले हिमाली क्षेत्रको उत्पादनको स्वाद पाउने उहाँले प्रष्ट पार्नुभयो ।
भौगोलिक विकटता र पर्याप्त सडक मार्गको विकास नहुँदा छिमेकी देश चीनसँग सीमित नाका रहेको बताउँदै उपसभामुख रानाले भएका नाकाहरू पनि बेला बेलामा बन्द हुने गरेकाले समस्या हुने गरेको बताउनुभयो । नेपालमा बनाइएको कार्पेट चीनमा निर्यात हुने गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो ।
तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबिचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ रहेको बताउनु भयो । तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलो पटक नेपाल आएको बताउँदै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैँ विशेष प्राथमिकता दिने बताउनु भयो ।
भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ पनि सहभागी हुनुहुन्थ्यो ।
