काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष रासायनिक मलकाे अभाव नहुने दाबी गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा कृषि मन्त्रालयमाथि सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने दाबी गर्नुभषाे ।
हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको भन्दै उहाँले असारको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने जानकारी दिनुभयाे ।
मल खरिदका लागि पैसा अभाव भएकाे भन्दै मन्त्री भुसालले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताउनुभयाे । रासायनिक मलको खरिद प्रक्रियालाई छिटोछरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐनमा संशोधन गर्न प्रस्ताव गरेकाे र मल खरिदसम्बन्धी निर्देशिकाको मस्यौदा गरी मन्त्रिपरिषद्मा पेस गर्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
सालले किसानलाई योगदानमा आधारित वर्गीकृत किसान पेन्सन योजनाको अवधारणाअघि बढाउने नीति रहेको सरकारले लिएकाे उहाँले बताउनुभयाे । अहिलेसम्म देशभर १० लाख बढी किसान सूचीकृत भइसकेको जानकारी दिँदै मन्त्री भुसालले किसान परिचयपत्र वितरणको आधारमा किसान वर्गीकरणको कार्य अघि बढाउने र यसैका आधारमा कृषिसम्बन्धी सेवा सुविधा प्रदान गरिने बताउनुभयाे ।
युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्ट अप कार्यक्रम ल्याइएको र त्यसका लागि आवश्यक बजेट विनियाेजन गरिएकाे मन्त्री भुसालले बताउनुभयाे । उहँँले संघीय कृषि ऐनको मस्यौदा तयार भई छलफलको अन्तिम चरणमा रहेको जानकारी दिनुभयाे ।
मन्त्री भुसालले अहिले देशैभर गाईभैँसीमा लाग्ने संक्रामक लम्पीस्किन रोग फैलिएको र याे राेग मनाङबाहेक सबै जिल्लामा देखापरेको जानकारी दिनुभयो । साे राेगबाट हालसम्म ६ लाख ११ हजार २ सय ९ पशु संक्रमित भएका छन् । संक्रमितमध्ये २१ हजार चार सय ७३ पशुको मृत्यु भएको छ भने ३ लाख ५४ हजार पाँच सय ५३ निको भएका छन् । २ लाख ३५ हजार २ सय १९ अहिले पनि संक्रमित अवस्थामा छन् ।
लम्पीस्किन रोगको भ्याक्सिन नेपालमा नबन्ने भएकाले अहिले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको मन्त्री भुसालले जानकारी दिनुभयो । अहिलेसम्म ७ लाख ३७ हजार डोज भ्याक्सिन ल्याइएको र ०८० असार १० गतेसम्म १ लाख ६२ हजार ३ सय ७१ पशुलाई खोप लगाइएको उहाँले बताउनुभयाे ।
