काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशरशरण महतले आगामी आर्थिक वर्षकाे बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आर्थिक विधेयक, २०८० माथि दफावार छलफलको लागि दिन तोकिनेछ । अर्थमन्त्री महतले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसअघि बैठकमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।
त्यसपछि सभामुख देवराज घिमिरेले विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा सांसद्हरुद्वारा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
