काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको नियति श्रीलंका जस्तै हुने भयो भन्ने भाष्य निर्माण भइरहेको बेलामा प्रधानमन्त्री भएको आफूले देशलाई त्यो निराशाबाट बाहिर निकालेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपालको आर्थिक अवस्था निक्कै सुधार भएको बताउनुभयो । त्यो आफ्नो सरकारकारको महत्पूर्ण उपलब्धि भएको दाहालले बताउनुभयो ।
जस्तोसुकै निराशाको कुरा गर्नेले पनि अब नेपाल श्रीलंका जस्तै हुन्छ भन्न छाडेका उहाँले सुनाउनुभयो । नेपालको राजश्वको हरेक क्षेत्र सुधार हुँदै गएको, विद्युत् प्राधिकरण, आलय निगम लगायतका संस्था नाफामा जान लागेका तथा नेपाल वायुसेवा निगमको अवस्था समेत सुधार हुँदै गएको दाहालले बताउनुभयो ।
उद्योग क्षेत्रमा सुधार भई १५ हजारलाई रोजगारी सुनिश्चित भएको उहाँले बताउनुभयो । आर्थिक सुधारकै कारण रोजगारीको आधार तयार भएको दाहालको दाबी छ । अहिलेको बजेटबाट उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
सुशासन उच्चलाई उच्च प्राथमिकतामा राखेर आफूलाई काम गरेको उहाँले बताउनुभयो । जनतामा देखिएका आक्रोस र असन्तुष्टि हटाई विश्वासको वातावरण निर्माण गर्न आफू सफल भएको उहाँले दाबी गर्नुभयो । ‘मैले सरकारको सबैभन्दा ठुलो उपलब्धि व्यवस्था प्रति जनतामा जगाएको भरोसालाई मानेको छु’, उहाँले भन्नुभयो ।
उच्च पदस्थ र देशको एउटा वर्ग कानुन भन्दा माथि हुन्छ भन्ने मान्यतालाई आफूले चिर्न सफल भएको उहाँले बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुद्धिकरणको अभियान सुरु भएको उहाँले बताउनुभयो ।
दाहालले बालुवाटार र ललिता निवास निल्न खोज्ने माथि पनि हिजोबाट कारबाही सुरु भएको बताउनुभयो । त्यस्तै सहकारीका ठग र मिटरब्याजी माथिको कारबाही पनि सुरु भएको बताउनुभयो । यो प्रक्रिया यहीँ नरोकिने र यसले निरन्तरता पाउने उहाँले बताउनुभयो । यस लडाइँमा सदन र आम नागरिकले आफूलाई साथ दिनु पर्ने उहाँले बताउनुभयो ।
रासायनिक मलको अभाव हुन नदिन पर्याप्त मल आयात गरेको भए पनि अझै समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । अर्को वर्षको लागि पनि मल आयातको लागि पर्याप्त बजेट विनियोजन गरेको दाहालले बताउनुभयो । नेपालमा नै मल कारखाना स्थापना गर्ने विषयमा समेत सम्भाव्यता अध्ययन सुरु भएको उहाँले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधारमा आफू सरकारमा आएपछि ठुलो प्रगति भएको उहाँले दाबी गर्नुभयो । ३ प्रतिशत थप नागरिकको घरमा विद्युत् पुर्याउन सफल भएको तथा ४ सय मेगावाट बढी विद्युत् उत्पादन ६ महिनाको अवधिमा भएको उहाँले दाबी गर्नुभयो । भारतलाई १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता हुनु ठुलो उपलब्धि भएको पनि उहाँले बताउनुभयो ।
विद्यार्थीलाई सममा नै पुस्तक पुर्याउनु, राहदानी, राष्ट्रिय परिचयपत्र, अध्यागमन लगायतका क्षेत्रमा हुने भिड कम गराउनु आफ्नो सरकारको महत्पूर्ण उपलब्धि भएको दाहालले बताउनुभयो ।
