काठमाडौंं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको व्यवस्थापन तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै बाढी पहिरो गएको क्षेत्रमा सडक सञ्चालनको लागि १० दिन भित्र नै बेलिबृज निर्माण गर्ने भनिएको भए पनि हालसम्म काम पुरा नभएको भट्टराईले बताउनुभयो । हेवा खोलमा बनाएको डाइभर्सन पनि गए रातिको बाढीले बगाएपछि ताप्लेजुङको सडक सम्बन्ध टुटेको भट्टराईले बताउनुभयो ।
सो विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूसँग पटक पटक छलफल गर्दा पनि समस्या समाधान नभएको र बाढी पहिरो प्रभावित थप पीडित भएका उहाँले गुनासो गर्नुभयो । ताप्लेजुङ जिल्लालाई जोड्ने तीन वटै राजमार्ग अहिले चल्न नसकेका उहाँले जानकारी दिनुभयो ।
ताप्लेजुङ सम्पूर्ण रूपले सम्बन्ध विच्छेदको अवस्थामा पुगेको उहाँले बताउनुभयो । ‘ताप्लेजुङमा भन्ने हो भने एक प्रकारले मानवीय संकट उत्पन्न भएको छ’, उहाँले भन्नुभयो ।
जिल्लामा खाद्य संकट र औषधीको संकट उत्पन्न भएको उहाँले बताउनुभयो । त्यहाँको समस्या समाधानको लागि सरकारले जुन हिसाबले ध्यान दिनु पर्ने त्यो हुन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । हवाई यातायातबाट भए पनि औषधी, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री पुर्याउन उहाँले माग गर्नुभयो ।
सो जिल्लामा एक दर्जन जति पक्की पुल भत्किएका तथा दर्जनौँ झोलुङ्गे पुल बगाएको उहाँले बताउनुभयो । त्यसको पुन निर्माणमा तदारुकता नदेखाइएको उहाँले जानकारी दिनुभयो । काम भई रहका ठाउँमा पनि पर्याप्त जनशक्ति नहुँदा कामले गति निलिएको उहाँले बताउनुभयो ।
गएको जेठ ३२ गतेदेखि भएको अविरल वर्षाको कारण आएको बाढीले ताप्लेजुङमा ६ जना पाँचथरमा ६ जना र सङ्खुवासभामा २४ जनाको ज्यान गएको अहिलेसम्मको तथ्यांक रहेको पनि भट्टराईले जानकारी दिनुभयो । बाढी पहिरोबाट ठुलो परिमाणमा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति भएको छ ।
