काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे कामसँग आफू सन्तुष्ट नभएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय र सचिवालयकाे कामसँग आफू सन्तुष्ट नरहेकाे बताउनुभयाे ।
एमाले सांसद् रघुजी पन्तले साेध्नुभएकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'प्रधानमन्त्री कार्यालय र सचिवालयबाट म सन्तुष्ट छैन केही नयाँ गर्न चाहेकाे छु रघुजी पन्त जस्ताले राम्राे सुझाव दिनुभयाे भने पालना गर्छु ।'
साेही विषयमा स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले साेधेकाे प्रश्नकाे जवाफ दिँदै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको काम चुस्त हुन नसकेकामा आफू जानकार रहेको र यसलाई छिट्टै सुधार गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
एमालेका प्रमुख सचेतक पदम गिरीकाे प्रश्नकाे जवाफ दिँदै उहाँले विकासकाे तुफान आयाे भनेर आफूले भनेकाे दाबी गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'विकासकाे तुफान आयाे भनेकै हाेइन, सुशासन र विकासका निम्ति काम गर्ने हाे भने असम्भव छैन भनेकाे हाे, तुफान आइसकेकाे छैन, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै काम सुरु भएका छन् ती अगाडि जाने हाे भने तुफान आउन सक्छ छिट्टै ।'
ईपीजीकाे प्रतिवेदनबारे आफ्नै ढंगले काम गरिरहेकाे भन्दै उहाँले चाँडै प्रतिवेदन बुझिने विश्वास व्यक्त गर्नुभयाे । 'यसभन्दा अगाडि अरु पनि प्रधानमन्त्री भएका थिए, अरुले गरेकाे भए मैल त गर्नैपर्ने थिएन'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
यसै महिनाभित्र बुढीगण्डकी परियाेजना अगाडि बढाउन कार्यालय स्थापना गरिने पनि उहाँले बताउनुभयाे ।
राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान, एनआडडी लगायत कार्यालय प्रधानमन्त्री कार्यालय मातहत राखिएकाे विषयमा उहाँले केपी शर्मा ओलीले थालेर शेरबहादुर देउवाले पनि राखेकाले आफूले पनि राखेकाे बताउनुभयाे । हटाउनुपर्ने भए राजनीतिक रुपमा छलफल गरेर हटाउन आफू तयार रहेकाे बताउनुभयाे ।
