काठमाडाैं । स्वतन्त्र सांसद् डा. अमरेश कुमार सिंहले सरकारले गरिबलाई मार पर्नेगरी कर लगाएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभामा आर्थिक विधेयक ०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद् सिंहले गरिबले खाने आलु, प्यास लगायत खाद्यान्नमा कर बढाएर सरकारले गरिबलाई मारमा पारेकाे बताउनुभयाे ।
'गरिब जनताले खाने चिजमा बढी कर लागेकाे छ, कहिल्यैपनि कुनै पनि देशमा नसुनेकाे आलु प्याजमा कर कहाँबाट लगाइयाे, यसले गरिब जनता मारमा परेका छन्'- उहाँले भन्नुभयाे । सरकारले पालुंगाेकाे सागमा पनि कर लगायाे भनेर जनताले भनिरहेका भन्दै सांसद् सिंहले कर बढाएर कुनै उपलब्धि नदेखिएकाे बताउनुभयाे ।
देश, समाज र जनता हेरेर कर लगाउनुपर्ने भन्दै उहाँले आलु प्याजदेखि खाद्यान्नमा समेत सरकारले कर बढाएकाे भन्दै सांसद् सिंहले आपत्ति जनाउनुभयाे । धनीले खाने सालमन लगायतमा कर घटाउने काम सरकारले गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
चुराेटमा ७५ प्रतिशत बढी कर लाग्नुपर्ने भएपनि ३ दशमलव १९ प्रतिशतमा मात्रै कर किन लाग्याे भन्दै सांसद् सिंहले प्रश्न गर्नुभयाे । कम क्षमताकाे विद्युतीय गाडीमा कर बढी र बढी क्षमताकाे कम कर लगाइएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
पुँजीगत खर्च हरेक वर्ष घट्दै जाने र साधारण खर्च माउन्ट एभरेष्ट जस्ताे हुँदै जाने स्थिति भएकाे भन्दै सांसद् सिंहले साधारण खर्च र पुँजीगत खर्चकाे अन्तर कम हुँदैन तबसम्म देश विकास नहुने बताउनुभयाे ।
उहाँले असारे विकास राेक्न पनि माग गर्नुभयाे ।
