काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुर प्रसार गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा खर्चका अनुमान नै तथ्यपरक नभएका बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे आर्थिक विधेयक ०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद् गैरेले भन्नुभयाे - 'विनियाेजन विधेयककाे याे तहसम्म आइपुग्दा, याे सरकारले अनुमान गरेकाे खर्चका अनुमानहरु नै तथ्यपरक छैनन्, स्राेतहरु पनि विश्वसनीय छैनन् ।'
अनुमान गलत भएपछि त्यसले दिने निष्कर्ष पनि गलत हुने भन्दै उहाँले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताउनुभयाे ।
सरकारले ल्याएकाे नीति तथा कार्यक्रम, विनियाेजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र बजेटमा एकरुपता नदेखिएकाे पनि सांसद् गैरले बताउनुभयाे ।
करका दर निर्धारणमा कुनै वैज्ञानिक आधार नरहेका भन्दै उहाँले विचाैलियाकाे प्रभाव देखिएकाे बताउनुभयाे । विचाैलियाकाे हित हुने कुरा सुनिश्चित हुनेगरी करका दर निर्धारण गरिएकाे बताउँदै सांसद् गैरेले भन्नुभयाे - 'यसले गरिबकाे रेखामुनी रहेका जनताले थप पीडा भाेग्नुपर्ने, महंगी बढ्ने, कालाेबजारी बढ्ने र सुशासनकाे आशालाई निराशामा बदल्ने देखिन्छ ।'
वित्तिय आयाेगले गरेकाे सिफारिसलाई सरकारले अबलम्बन नगरेकाे भन्दै उहाँले कार्यान्वयन गर्ने कुरा पनि आर्थिक विधेयकले नगरेकाे बताउनुभयाे । सांसद् गैरेले वित्तिय प्रणालीकाे विश्वसनियता पनि यसले गुमाएकाे बताउनुभयाे ।
आर्थिक विधेयक सैदान्तिक रुपमै अन्याेगलग्रस्त रहेकाे उहाँले बताउनुभयाे ।
