काठमाडौं । 'राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकबाट स्वीकृत भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे तेस्राे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा नेकपा एमालेका सांसद् ठाकुरप्रसाद गैरेले गणपूरक संख्या नपुगेकाे भन्दै प्रश्न गर्नुभएकाे थियाे । त्यसपछि सभामुख देवराज घिमिरेले ३ मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिनुभयाे ।
साे प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाकाे सदस्य संख्याकाे एक चाैथाइ अर्थात ६९ जना सांसद् उपस्थित हुनुपर्नेमा ७१ जना उपस्थित भएकाे र गणपूरक संख्या पुगेपछि बैठक अघि बढेकाे थियाे ।
त्यसपछि सभामुख घिमिरेले 'राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि आजै बसेकाे दाेस्राे बैठकमा गणपूरक संख्या नपुगेपछि १० मिनेट बैठक स्थगित गरिएकाे थियाे ।
आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा संशाेधन प्रस्ताव पेस गर्न चाहाने सांसद्लाई विधेयक शाखामा संशाेधन दिन अनुराेध गर्नुभयाे । प्रतिनिधि सभाकाे बैठक असार १७ गते बस्नेगरी स्थगित भएकाे छ ।
