काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले राजस्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद् सुवालले कृषि उद्याेग र जलविद्युत उत्पादनलाई जाेड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयाे ।
अहिले राजश्वकाे स्राेत गाडी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तशुल्क, जग्गा निजी प्लटिङ तथा बेचविखनमा रजिष्ट्रेशन शुल्क र पुँजीगत लाभकर भएकाे र याे भरपर्दाे नभएकाे भन्दै उहाँले कृषि उद्याेग र जलविद्युत उत्पादनलाई जाेड दिइ देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयाे । 'सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्छ, राजस्व र करको भरमा देश चल्दैन'- सांसद् सुवालले भन्नुभयाे ।
अब प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने उहाँले बताउनुभयाे । एउटै उद्योगी-व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भए पनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको भन्दै सांसद् सुवालले याे कर प्रणाली प्रगतिशिल नहुँदाकाे परिणाम भएकाे बताउनुभयाे ।
भरपर्दाे ढंगले देशलाई आर्थिक रुपमा सबल बनाउने उपाय अबलम्बन गर्न उहाँले सरकारलाई सुझाव दिनुभयाे । आफ्ना युवा विदेश पठाएर देश आत्मनिर्भर हुन नसक्ने पनि सांसद् सुवालले बताउनुभयाे । जनआन्दाेलन लगत्तै सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरु सुविधाभाेगी हुँदा पुँजीपति वर्गकाे सहयाेगमा चुनाव धेरै ठाउँ जित्ने, सत्ताकाे दुरुपयाेग गरी भ्रष्टाचार र कमिशन खाने भावना देखिएकाे भन्दै यस्ता गतिविधि कायम रहेसम्म देशकाे अर्थतन्त्र बलियाे हुन नसक्ने उहाँले बताउनुभयाे । सानालाई मात्र नभई ठूला माछालाई पनि कारबाही गर्नुपर्ने सांसद् सुवालले बताउनुभयाे ।
निजी विद्यालय, कलेज र अस्पतालबाट सेवा भन्दा बढी ठगी भइरहेकाले यतातिर कर उठाउनु भन्दा पनि सरकारकै स्वामित्वकाे विद्यालय, कलेज र अस्पताललाई गुणस्तरीय बनाउन सांसद् सुवालले सरकारलाई सुझाव दिनुभयाे ।
