काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् नयाँ बानेश्वरमा दिउँसाे २ बजेर ३१ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक, २०८० को सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुनेछ ।
त्यसपछि बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक, २०८० सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा शिक्षा विज्ञान तथ प्रविधि मन्त्री अशोक कुमार राईले विधायन व्यवस्था समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले नै साे विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्न बनेको विधेयक, २०८० माथि दफाबार छलफल छलफल सदनमा गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि मन्त्री गुरुङले नै सो विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
