काठमाडाैं । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिकाे सरकारका लागि आह्वान गर्नुभएकाे छ ।
विश्वासको मत माग्ने आफ्नाे प्रस्तावकाे विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले सर्वपक्षीय सरकारका लागि आह्वान गर्नुभएकाे हाे ।
सबैभन्दा ठूलाे दलकाे हिसाबले आफू मुख्यमन्त्री नियुक्त भएकाे र सरकारकाे सय दिन पुगेकाे अवसरमा नै आफूले सहमतिय सरकारकाे आह्वान गरेकाे स्मरण गराउनुभयाे ।
मुख्यमन्त्री कार्कीले भन्नुभयाे - 'हामीले अंगिकार गरेकाे निर्वाचन प्रणालीका कारण कुनै पनि दलकाे बहुमत प्राप्त नहुने जगजाहेरै छ, प्रणालीकाे दाेष दिने देखाएर प्राप्त जिम्मेवारीबाट भाग्न मिल्दैन, जिम्मेवार दलकाे जिम्मेवार नेताकाे हिसाबले व्यवस्थापन गरेर जानुपर्छ भन्नेमा मैले केही कसर बाँकी राखेकाे छैन, त्यसैले सरकारकाे १ सय दिन पुगेकाे अवसरमा प्रदेश सहमतिय सरकारकाे आह्वान गरेकाे हूँ, यस कुरामा म अहिले पनि अडिग छु ।'
आफ्नाे प्रस्तावलाई सत्ता टिकाउने र हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउनै लागि भन्ने हलुका बुझाइले प्रदेश राजनीतिकाे निकास ननिस्केन उहाँले बताउनुभयाे । अर्काे वैकल्पिक सरकार निर्माण हुने आधार पनि नदेखिएकाले सर्वपक्षीय सरकारकाे विकल्प नभएकाे मुख्यमन्त्री कार्कीकाे भनाइ छ ।
अहिलेको सरकारले विश्वासको मत नपाएको अवस्थामा अर्को सरकार पनि बन्ने अवस्था नरहेकाले यसमा सबै गम्भीर हुनुपर्ने उहाँले प्रष्ट पार्नुभयाे ।
काेशी नामका विषयमा असन्तुष्ट पक्षसँग वार्ता टाेली बनाएर काम अगाडि बढाएकाे भन्दै उहाँले यसलाई निरन्तरता दिने बताउनुभयाे । वार्ताका लागि केही ढिलाे भएकाे स्वीकार गर्दै उहाँले भन्नुभयाे - 'प्रदेश सभाभित्र सबैकाे सहमतिमा नामाकरण गरेकाले सबै दलकाे सहमतिमा सामूहिक वार्ता टाेली बनाउनेकी भन्दा केही दल तयार हुनुभएन, कुन प्रकृतिकाे वार्ता टाेली बनाउने, उहाँहरु वार्तामा आउनुहुन्छ कि हुन्न भन्ने बुझ्न हामीलाई समय लाग्याे ।'
जेठ १५ गते गणतन्त्र दिवसकाे दिन आफूले पहिचानवादीहरुलाई वार्ताका लागि आव्हान गरेकाे र उहाँहरु सकारात्मक भएकाे थाहा पाएपछि वार्ता टाेली गठन गरेकाे मुख्यमन्त्री कार्कीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'वार्ताकाे माध्यमद्वारा पहिचानवादी साथीहरुका उचित मागलाई सम्बाेधन गरेर, संवैधानिक कानुनी हिसाबले निकास दिएर अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।'
भागबण्डाकाे औजारकाे रुपमा मन्त्रालय टुक्राउने र संघीयताकाे विषयमा कुरा उठाउने वातावरण कसले सृजना गर्याे ? र गलत काेर्सलाई सच्याएर अघि बढाउने काम कसले गर्याे भन्ने जगजाहेर नै भएकाे मुख्यमन्त्री कार्कीले बताउनुभयाे ।
सबै राजनीतिक दलहरु माने पनि नमानेपनि जनताकाे बहुदलीय जनवादकै वरिपरी अघि बढिरहेका बताउनुभयाे ।
