काठमाडौं । कोसी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार कोसी प्रदेश सभामा विश्वासको मत पाउन नसके पछि सरकार ढलेको हो ।
शुक्रबार भएको मतदानमा विश्वासको मतको पक्षमा ४६ मत परेको थियो । सरकारको विपक्षमा कुल ४३ मत खसेको छ । सरकार जोगाउन कम्तीमा ४७ मत चाहिन्थ्यो । एक मत नपुग्दा कार्की नेतृत्व सरकार ढलेको छ ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेश सभा सदस्यले मत दिएका छन् । विपक्षमा गठबन्धन दलमा रहेका नेपाली कांग्रेसका २९, माओवादीका १२ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेश सभा सदस्यले मतदान गरेका छन् । जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित रहनुभयो ।
९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दछ । बहुमत पुर्याउन नसकेपछि ६ महिना पनि नपुगी कार्की सरकारबाट बाहिरिनु भएको छ । उहाँले गत पुस २४ गते मुख्यमन्त्रीको नियुक्ति लिनुभएको थियो ।
