काठमाडाैं । सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी पार्न राजनीतिक दलहरुको भूमिका अपरिहार्य हुने बताउनुभएकाे छ ।
६५ औं संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जअपेक्षा अनुसार संसद् चल्न नसकेकाले दलहरुले त्यसलाई प्रभावकारी बनाउने बताउनुभयाे ।
जनताको चाहना पूरा गर्न संविधान समेत संसद्ले संशोधन गर्न सक्ने भएकाले संसद्लाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयाे । सभामुख घिमिरेले भन्नुभयाे - 'संसद् प्रभावकारी हुनुपर्छ, यसमा कुनै बहस र विवादको विषय छैन, प्रभावकारी कति हुँदा हुन्छ ? यसको मापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला, तर जे भए पनि जनअपेक्षा अनुरुपको हुन नसकिरहेको छैन भन्ने आम अनभूतिहरु छ जस्तो मलाई पनि लाग्दछ, यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ ।'
संसद् जनप्रतिनिधिहरुको सर्वोपरि संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद् क्लबभित्र छलफल गर्न उपयुक्त हुने उहाँले बताउनुभयाे । 'संघीय संसद् सर्वोपरि संस्था हो, यसले बनाउने नीति, कानुन, यसले बनाएको सरकार देशमा शासन गरिरहेको हुन्छ, यसले अहिलेको आवश्यकता र खाँचो अनुसार काम गर्न सकिरहेको छै कि छैन ? छैन भने कानुनको अभाव छ भने कानुन बनाऔं, कार्यान्वयनको अभाव छ भने सरकार वा अन्य अंगहरुलाई याक्टिभेट बनाउने काम गरौँ, संविधान नै बाधक छ भने पनि यसको बारेमा छलफल चलाउन पूर्व सांसद क्लब उपयुक्त हुन्छ'- सभामुख घिमिरेले भन्नुभयाे ।
राष्ट्र र नागरिककाे आवश्यकता अनुसार कानुन निर्माण गर्नुपर्ने र भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने उहाँले बताउनुभयाे ।
