काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् योगेश भट्टराईले एमालेमाथि हमला र प्रहार गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताउनुभएको छ ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केही नहुने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'म इलामकाे हाम्राे पार्टीकाे कार्यक्रममा जाँदा केही साथीहरुले कालाे झण्डा देखाउनुभयाे, तपाइँहरुले कालाे झण्डा देखाउने अधिकार हामी जस्तैले लडेर ल्याएकाे हाे त्याे उपयाेग गर्नुभयाे ठिकै छ, तर कुनै पार्टी, व्यक्तिमाथि निराशा गरेर जानुभयाे भने समस्याकाे हल हुँदैन, आन्दाेलन-विराेध शान्तिपूर्ण हुनुपर्छ, हिंसात्मक र उत्तेजनात्मक, नेपालकाे जातीय एकता र साम्प्रदायिक सद्भाव विथाेल्ने खालकाे हुनुहुँदैन, अरु तपाइँहरुले उठाएकाे कुरा ठिक बेठिक छलफल गर्दै जाउँला, तर एमालेलाई निशाना गरेर र एमालेकाे नेतृत्वलाई आक्रमण गरेर काेशी प्रदेशकाे समस्या हल हुँदैन भनेर मैले कालाे भण्डा देखाउनेलाई भनेकाे छु ।'
सांसद् भट्टराईले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबैको भाषाभाषी, जातजातीलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातीको राष्ट्र नभएको बताउनुभयो । एमाले सबैको साझा पहिचानको पक्षमा रहेको उहाँले बताउनुभयाे ।
कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिने बताउनुभयाे । तर एमालेलाई लखेटेर, प्रतिबन्द लाउँछाैं भन्ने कुरा सम्भव नभएकाे उहाँले बताउनुभयाे ।
काेशीकाे बारेमा आन्दाेलनरत पक्षलाई संवादमा आउन समेत उहाँले आह्वान गर्नुभयो ।
