काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विराजभक्त श्रेष्ठले स्थापित राजनीतिक दलका नेताकै संरक्षणमा मिटरब्याज चलिरहेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाको दोसो बैठकमा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद् श्रेष्ठले दलका नेताकै संरक्षणमा मिटरब्याज चलिरहेको बताउनुभयाे ।
मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि कानुनीसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको उहाँले बताउनुभयाे । 'स्थापित राजनीतिक दलका नेताहरुकै संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ, यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, प्रहरीका उच्च पदस्थहरु नै मिटरब्याजमा संलग्न छन् भन्ने कुरा आएको छ, यसका लागि हामले वित्तीय शिक्षामा सुधार गर्नुपर्छ र वित्तीय साक्षरता बढाउनुपर्छ'- सांसद् श्रेष्ठले भन्नुभयाे ।
वित्तिय साक्षरतासँगै वित्तिय पहुँचको जनचेतना पनि आवश्यक रहेकाे उहाँले बताउनुभयाे । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक हेर्दा सामन्तवाद सकिए पनि सामन्तवादको अवशेष अझै बाँकी रहेको कुराकाे झल्काे आउने समेत सांसद् श्रेष्ठले बताउनुभयाे ।
किसानहरुका लागि उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धन गर्ने नीति ल्याउन उहाँले सरकारलाई सुझाव दिनुभयाे ।
