काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले जनता र सदनलाई गुमराहमा राख्ने काम गरिरहेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाको दोसो बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले जनता र सदनलाई गुमराहमा नराख्न सरकारलाई चेतावनी दिनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'याे सरकारले जनतालाई, संसद्लाई गुमराहमा राख्नेगरी विधेयक पास गर्न खोजेको छ, याे चेष्टा नगराेस् ।'
सरकारले मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्याउनका लागि साे विधेयक ल्याएकाे उहाँले बताउनुभयाे । वैशाख २७ गतेदेखि असार ५ गतेसम्म सरकार चिर निद्रामा रहेकाे र असार ११ गते राष्ट्रिय सभाको फुल हाउसबाट हतारहतार छलफल नै नगरी विधेयक पारित गरेको प्रमुख सचेतक गिरीले बताउनुभयाे ।
राष्ट्रिय सभाबाट फास्ट ट्रयाकमा पास गर्ने र प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदा समेत सांसद्काे हातमा विधेयक नहुनु सरकारकाे गैरजिम्मेवारपन भएकाे उहाँले बताउनुभयाे ।
मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरु भएको भन्दै प्रमुख सचेतक गिरीले यसमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारी समेत संलग्न रहेको बताउनुभयाे । मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उहाँले बताउनुभयाे ।
ताजा जनादेश आएको ७ महिना पुग्दा पनि अहिलेकाे सरकारले एउटा पनि ऐन निर्माण गर्न नसकेको भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
