काठमाडाैं । नेकपा एमालेका सांसद् साेनाम गेल्जेन शेर्पाले बजेटमा विभेद भएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा सांसद् शेर्पाले पहुँचवाला मन्त्री र सांसद्ले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताउनुभयाे ।
हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसद्लाई तेस्रो दर्जाको रुपमा हेरिएको भन्दै उहाँले बजेट माग्न जाँदा बेवास्ता गरिएकाे बताउनुभयाे ।
सांसद् शेर्पाले पछि परेको क्षेत्र भन्दा पनि विभिन्न बहाना गर्दै पहुँचका भरमा बजेट वितरण गर्ने प्रवृति देखिएको बताउनुभयो । उहाँले भन्नुभयाे - 'एउटा पहुँचवाला व्यक्ति सांसद्-मन्त्री हुने, ठूलै बजेट लाने, एउटा सांसद् यसो थर्काएर, विरोध गरेर पनि अलिअलि लाने, हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पछडिएका जातबाट आएकाहरु चाहीँ तेस्रो दर्ताको सांसद् पर्दोरहेछौँ, न बजेट लान सक्छ, न केही गर्नसक्छ, सचिवहरुकहाँ गयो सचिवहरुले पनि राष्ट्रिय गौरवका आयोजनाहरु बनाउनुपर्छ, अर्थतन्त्र यस्तै छ डामाडोल छ भनेर ढाँटिदिने, अनि हामी सोझो मान्छे-हिमालको मान्छे पत्याइदिने ।'
बजेट आउने बेलामा भने मन्त्री र ठूलाठूला नेताकाेमा धेरै बजेट छुट्याइने अरुकाेमा नहुने अवस्था देखिनु दु:खद भएकाे सांसद् शेर्पाले बताउनुभयाे । उहाँले अहिले स्थानीय तह र प्रदेश तहलाई गएको बजेट हेर्दा मुलुकमा साच्चिकै संघीयताको आवश्यकताको पुष्टि भएको समेत उहाँले बताउनुभयाे ।
