काठमाडौं । नेकपा एमालेका सांसद् सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्डकाे व्यवस्था गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बाेल्दै उहाँले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नुभयाे ।
हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेर आराेहण गरेकालाई पनि सगरमाथा चढेको मान्यता दिने गरिएकाे भन्दै सांसद् शेर्पाले कुन टाउँबाट चढेकालाई मान्यता दिने भन्ने कुरा कानुनमै स्पष्ट हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सगरमाथा चढ्ने एउटा मापदण्ड हुन्छ, तर नेपालकाे कुनै पनि एेन-कानुन पर्यटन एेनमा यहाँदेखि यहाँ चढेर यहाँदेखि त्यहाँ झर्याे भने सगरमाथा चढेकाे मान्यता दिने भन्ने कहीँ लेखिएकाे छैन, हेलिकप्टरबाट २-३ नम्बर क्याम्पमा पुग्ने र फर्किँदा पनि त्यहीँबाट हेलिकाेप्ट चढ्नेलाई पनि सगरमाथा चढेकाे मानिन्छ, बेसक्याम्पबाट गएर टुप्पाेमा पुगेकाेलाई पनि सगरमाथा चढेकाे मानिन्छ, भनेपछि कुनलाई सगरमाथा चढेकाे मानिने ? त्यसकारण सगरमाथा चढ्दा कहाँबाट चढ्ने र कहाँबाट झर्ने भन्ने व्यवस्था एेनमा हुनुपर्छ ।'
सगरमाथामा मानव चढेको ७० बर्षपछि बल्ल सो क्षेत्रमा पर्यटनको विकास सुरु भएको भन्दै उहाँले पर्यटन विकासका नाममा सगरमाथामा वातावरण प्रदुषण र हिमाल प्रदुषण बढेकाे समेत बताउनुभयो । सगरमाथा आराेहीहरुका कारण बेस क्याम्प प्रदुषित भएकाे भन्दै सांसद् शेर्पाले यसकाे व्यवस्थापनमा पनि सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने बताउनुभयाे ।
विगतमा कुनै पनि योजना नबनाई पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै उहाँले अब भने योजना बनाएर नै पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयाे । पर्यटनले विकासमात्रै नभएर विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मसात गरेर पर्यटन नीति ल्याउन सरकारलाई सुझाव दिँदै सांसद् शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना नै बनाएर काम गर्नुपर्ने बताउनुभयाे ।
