काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे छ ।
असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले बुधबार बसेकाे राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे हाे ।
बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै समय लिएर बाेल्दै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचनकाे क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयाे । प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्तिले देशकाे शीर निहुरिएकाे र राष्ट्रलाई कमजाेर बनाएकाे उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री स्वयम्ले प्रीतम सिंह मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभयाे भन्नेले नेपाल र नेपालीलाई लज्जाबाेध भएकाे नेता दाहालले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामी कुन देशका नागरिक हाैं ? हामीले हाम्राे देशकाे प्रधानमन्त्री बनाउँदा याे देशकाे सार्वभाैम संसद्ले बनाउछ कि भारतकाे दिल्लीकाे इसारामा बन्छ भन्ने कुरा आम जनताले काैतहलतापूर्वक याे कुरा साेचिरहेकाे अवस्था छ, याे कुरालाई हाम्राे पार्टी एमालेले गम्भीर रुपमा लिएकाे छ ।
भारतकाे इसारामा बनेका प्रधानमन्त्रीलाई पदमा बस्ने हक नभएकाे भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताउनुभयाे । नेता दाहालले भन्नुभयाे - 'याे देशकाे नागरिक भारतकाे इसारामा प्रधानमन्त्री बन्छ भने त्याे प्रधामन्त्री हामीलाई ग्राह्य छैन, त्याे प्रधानमन्त्री स्वीकार्य छैन, त्यसकारण याे देशकाे प्रधानमन्त्री भनिरहनुभएकाे छ उहाँले राजीनामा दिनुपर्छ, उहाँलाई याे देशकाे प्रधानमन्त्री हुने कुनै अधिकार छैन, दिल्लीकाे इसारामा प्रधानमन्त्री बन्नुभएकाे हाे भने एमालेलाई त्याे स्वीकार्य छैन ।'
देशकाे नियम कानुन र प्रक्रिया अनुसार देशकाे प्रधानमन्त्री बन्ने भन्दै उहाँले संख्या त देखाउने कुरा मात्रै रहेकाेजस्ताे देखिएकाे बताउनुभयाे । भारतकाे इसारामा, नेतृत्वमा भएकाे प्रधानमन्त्री स्वीकार्य नहुने भन्दै नेता दाहालले प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिनुभयाे ।
