काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा मागेकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्तिले नेपाली जनताकाे स्वाभिमानमा ठेस पुगेकाे बताउनुभयाे । उहाँले प्रधानमन्त्री प्रचण्डकाे राजीनामा नआएसम्म संसद् चल्न नदिने चेतावनी दिनुभयाे ।
सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्तिले सिंगाे नेपाल राेएकाे र नेपाल जनताकाे शिर निहुरिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'आज मौसम मात्र उदास छैन, मौसममा मात्रै बादल लागेको छैन, आज नेपालीको मनमा बादल लागेकाे छ, भावनामा आघात पुगेकाे छ, स्वाभिमानमा आघात पुर्याएकाे छ, सम्माननीय प्रधानमन्त्रीज्यू सम्माननीय पनि भनौं कि नभनौं जस्तो लाग्छ कहिलेकाँही, तर सम्झिन्छु, हामीले नै उहाँलाई प्रधानमन्त्री बनाएका थियौं, हाम्राे नेताकाे अग्रसरता उहाँ प्रधानमन्त्री बन्नुभएकाे थियाे, विश्वासकाे मत लिने बेलामा उहाँकाे अर्काे पार्टीकाे विश्वासकाे मत लिनुभएकाे थियाे त्यसमा हामीलाई कुनै कुण्ठा र आग्रह थिएन ।'
तर प्रधानमन्त्री प्रचण्डले असार १८ गते प्रितम सिंहबारेकाे पुस्तक विमाेचनमा दिएकाे अभिव्यक्तिले नेपालीकाे मन राेएकाे र नेपालीकाे स्वाभिमानमा ठेस लागेकाे लागेकाे सांसद् पन्तले बताउनुभयाे । 'उहाँले दिएका अभिव्यक्तिले हाम्रो मनमा बादल लागेको छ, प्रत्येक नेपालीकाे स्वाभिमानमा ठेस लागेकाे छ, नेपाल रोएको छ, नेपालको स्वाभिमान गिरेको छ, उहाँले भन्नुभयाे - उहाँ प्रितम सिंहले एकपटक प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयाे, धेरैचाेटी दिल्ली जानुपनि भयाे, नेपालको प्रधानमन्त्री बनाउन जनतातिर फर्किने कि दिल्ली जाने हो ? नेपालको प्रधानमन्त्री बनाउन दिल्ली जानुपर्ने ?'- उहाँकाे प्रश्न छ ।
प्रधामन्त्रीकाे अभिव्यक्तिले देशकाे स्वाभिमान र गरिमा गिरेकाे भनेर सबैले भनिरहेका सांसद् पन्तले बताउनुभयाे । बलभद्र कुँवर, भक्ति थापा र अमरसिंहका सन्तान नेपालीलाई देशकाे स्वाधिनता, वीरता र भाैगाेलिक अखण्डता सबैभन्दा प्याराे रहेकाे उहाँले बताउनुभयाे । नेपालीहरु आफ्नाे देशकाे स्वाभिमान जाेगाउन नेपालीहरु मरिमेटेर लागिरहेका बेला देशकाे स्वाभिमानमाथि आफ्नै प्रधानमन्त्रीबाट प्रहार हुनु आपत्तिजनक रहेकाे सांसद् पन्तले बताउनुभयाे । 'तर त्यही स्वाभिमानमाथि आघात हुन्छ, प्रहार हुन्छ, त्याे पनि अन्तबाट हाेइन आफ्नै प्रधानमन्त्रीबाट, याे दुर्भाग्यकाे दिन आज किन देख्नुपर्याे ? के प्रधानमन्त्री सबभन्दा ठूलाे कुरा हाे, प्रधानमन्त्री पद निर्णायक हाे ? देशकाे स्वाभिमान, देशकाे अखण्डता र गरिमा भन्दा पनि बढी ?'- उहाँकाे प्रश्न छ ।
प्रधामन्त्रीकाे अभिव्यक्ति असह्य रहेकाे भन्दै सांसद् पन्तले नैतिकताकाे आधारमा पदमा बस्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाे बताउनुभयाे ।सांसद् पन्तले भन्नुभयाे - 'प्रधानमन्त्रीले जे बाेल्नुभयाे, नैतिकताकाे आधारमा उहाँले पदमा बस्न उपयुक्त हुँदैन, उहाँले राजीनामा गर्नुस्, जाेसकुै प्रधानमन्त्री बनाेस्, दिल्लीतिर नफर्कने, नेपालतिरै फर्किने, नेपालकाे माटाेतिरै फर्किने प्रधानमन्त्री चाहियाे, जसले याे देशकाे स्वाभिमान, गरिमा र मर्यादालाई रक्षा गर्न सकाेस् ।'
देशले प्रधानमन्त्रीकाे अभिव्यक्तिबारे प्रश्न साेधिरहेकाे उहाँले बताउनुभयाे । सांसद् पन्तले नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएकाे हाे, देशकाे हक, हित र स्वाभिमानकाे रक्षा गर्ने, टेबुलमा वार्ता गर्दा देशकाे पक्षमा अडान लिन सक्ने प्रधानमन्त्री चाहिएकाे हाे, लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएकाे हाेइन ।'
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयाे । 'याे विषय क्लियर नभएसम्म प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म याे संसद् अब अगाडि बढ्न सक्दैन'- सांसद् पन्तले भन्नुभयाे ।
सांसद् पन्तले आफूहरुले दिएकाे सुझावलाई बेवास्ता गर्दै प्रधानमन्त्री प्रचण्डले वातावरण बिग्रन्छ भनेर ईपीजीबारे कुरा नगरेकाे बताउनुभयाे । १९५० काे सन्धीबारे केही नबाेलेकाे, सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुराबारे कुनै पनि कुरा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा नउठाएकाे बताउनुभयाे । नेपालका हित, आवश्यकता र कूटनीतिक समस्या समाधानबारे उहाँले कुनै कुरा नउठाएकाे बताउनुभयाे । नेपालकाे जलस्राेत भारतकाे एकलाैटी कब्जामा जानेगरी सम्झाैता गरेर आउनुभएकाे सांसद् पन्तले बताउनुभयाे ।
भारतकाे अखण्ड नक्साबारे साेधेकाे प्रश्नकाे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जवाफ नै नदिएकाे बताउनुभयाे । अहिलेसम्म कूटनीतिक नाेट नपठाइएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । नेपाललाई कुनै पनि देशकाे स्याटलाइट बनाउने कुरा स्वीकार्य नहुने बताउनुभयाे ।
बैठक सुरु हुनासाथ एमालेसहित रास्वापा र राप्रपाका सांसद् पनि उठेर विराेध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद् रघुजी पन्तलाई समय दिनुभयाे ।
