काठमाडाैं । नेपाली कांग्रेसका सांसद् उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको बताउनुभएकाे छ ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् राणाले प्रधानमन्त्री प्रचण्डले बाेल्नै नहुने कुरा बाेलेकाे बताउनुभयाे । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्ने समेत उहाँले बताउनुभयाे ।
'प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेला केही कुरा बोल्नु भएको थियो, त्यसबारे उहाँहरुले आपत्ति जनाउनुभयो, सायद प्रधानमन्त्रीले त्यसको जवाफ दिएर हाउस अगाडि बढाउँछौँ, राजीनामाकाे माग उहाँहरु (एमाले) काे हाे, हाम्राे भनाइ भनेकाे प्रधानमन्त्रीले हाउसमा आएर स्पष्ट बनाइदिनुपर्छ, निर्वाचनको ८ महिनामा पनि सरकारले राम्रोसँग काम गर्न पाएको छैन'-उहाँले भन्नुभयाे ।
कांग्रेस सत्ताभन्दा स्थिरतातिर केन्द्रित रहेकाे दाबी गर्दै तत्काल सरकार परिवर्तन गर्ने पक्षमा पार्टी नरहेकाे सांसद् राणाले बताउनुभयाे ।
