काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे विवादास्पद अभिव्यक्तिकाे असर सदनमा परेकाे छ ।
प्रधानमन्त्रीकाे अभिव्यक्तिलाई लिएर बुधबार सदन बैठक प्रभावित हुँदा मिटरब्याजी समस्या समाधान गर्न बनेको अध्यादेश सदनमा छलफल र पारित नभई निष्क्रिय भएकाे छ ।
सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेर नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० तयार पारेकाे थियाे ।
अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची थियो । तर बैठक अवरुद्ध भएपछि विधेयक पेस हुन सकेन । साेही कारण अध्यादेश स्वत: निष्क्रिय भएको हो ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रचण्डकाे अभिव्यक्तिलाई लिएर एमालेले बुधबार संघीय संसद्को दुवै सदन अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेकाे थियाे ।
