काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेर १ मिनेटमा बस्न लागेकाे हाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विराेधपछि बुधबार स्थगित गरिएकाे बैठक आजका लागि सारिएकाे थियाे । आजकाे बैठक पनि अवरुद्ध गर्ने एमालेकाे तयारी छ ।
बुधबार दिउँसो साढे २ बजे बैठक सुरु भएलगत्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेको थियो । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएकाे थियाे ।
निर्धारित समयमा बैठक बस्न नसकेपछि संसद् सचिवालयले पुनः ४ः४६ बजे बैठक बस्ने सूचना जारी गरेकाे थियाे । सो समयमा पनि दलहरुबीच बैठक सुचारु गर्ने विषयमा सहमति जुट्न नसकेपछि संसद् सचिवालयले बैठक बिहीबारका लागि तय गरेकाे हाे ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रचण्डकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बिहीबार संघीय संसद्का दुवै सदनकाे बैठक अवरुद्ध गरेकाे थियाे । उसले प्रधानमन्त्रीकाे राजीनामा समेत मागेकाे छ ।
