काठमाडौं । राष्ट्रिय सभाकाे बैठक भाेलिसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बिहीबार बसेकाे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेकाे हाे ।
आज बैठक सुरु हुनासाथ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद् भैरवसुन्दर श्रेष्ठलाई बाेल्न समय दिनुभएकाे थियाे ।प्रधानमन्त्रीकाे अभिव्यक्तिले सारा नेपालीकाे स्वाभिमान गिरेकाे भन्दै सांसद् श्रेष्ठले देशकाे हितविपरित अभिव्यक्ति दिन प्रधानमन्त्रीलाई पदमा बस्न नसुहाउने बताउनुभयाे । नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने प्रष्ट पार्नुभयाे ।
सांसद् श्रेष्ठले बाेलेर सक्नासाथ एमाले सांसद् उभिएर विराेध जनाए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यसूची अगाडि बढाउन पटक पटक अनुराेध गर्नुभयाे । तर एमाले सांसद्हरु आफ्नाे अडानमा अडिग रहे ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाकाे अर्काे बैठक शुक्रबार दिउँसाे १२ बजेर २९ मिनेट जाँदा बस्नेगरी स्थगित भएको घाेषणा गर्नुभयाे ।
