काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले रासायनिक मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको बताउनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अर्थ समिति बैठकमा मन्त्री भुसालले विद्यमान ऐनले खरिद प्रक्रिया र समय धेरै लाग्ने देखिएकाले खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको जानकारी दिनुभयाे । खरिद ऐन र नियमावली संशोधन भए ४५ दिन लाग्ने खरिद प्रक्रिया १५ दिनमा नै टुंगिने उहाँले बताउनुभयो ।
मल आयातलाई नियमित गर्न जीटुजी मार्फत जानुपर्ने र बजेटको अग्रिम सुनिश्चितता हुनुपर्ने मन्त्री भुसालले बताउनुभयाे । रासायनिक मलमा मात्रै निर्भर नभई प्रांगारिक र जैविक मललाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री भुसालले यो वर्ष रसायनिक मलको मूल्य घटेका कारण अघिल्लो वर्ष भन्दा धेरै मल आयात गरिने जानकारी दिनुभयो ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले रासायनिक मल कारखाना स्थापना गर्न अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले लगानीकर्तालाई समेत कारखाना स्थापना गर्नका लागि अहिलेको माग र प्रयोगको अवस्था लगायत बारेमा अध्ययन गर्न अझै २ वर्ष लाग्ने बताउनुभयो ।
