काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।
बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञान बहादुर शाही र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नुहुनेछ । उहाँले नै राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि कानुनमन्त्री गुरुङ साे विधेयकलाई पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गर्नुहुने तयारी रहेकाे बताइएकाे छ । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने अभिव्यक्ति दिएपछि चाैतर्फी आलाेचना खेपिरहेका प्रचण्डले सदनमा जवाफ दिन लाग्नुभएकाे हाे ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीकाे जवाफ नभएर आफूहरुलाई राजीनामा चाहिएकाे बताएकाे छ । प्रधानमन्त्रीकाे साेही अभिव्यक्तिलाई लिएर एमालेले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा तथा बिहीबार राष्ट्रिय सभा बैठकमा अवराेध गरेकाे थियाे । एमालेले आज पनि सदन चल्न नदिने अडान राखेको छ ।
बिहीबार बसेकाे सत्ता गठबन्धनकाे बैठकले आफ्नाे अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री राजीनामा दिनुनपर्ने तर संसद् फेस गर्ने निर्णय गरेकाे थियाे ।
