काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आइतबार सम्मका लागि स्थगित भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध गरेपछि आजकाे बैठक पनि स्थगित भएकाे हाे ।
बैठककाे सुरुमै समय लिएर बाेल्दै एमाले सांसद् विमला घिमिरेले प्रधानमन्त्रीकाे अभिव्यक्तिले देशकाे शिर झुकेकाे भन्दै राजीनामा नआएसम्म सदन अगाडि बढ्न नसक्ने बताउनुभयाे । उहाँले बाेलिसकेपछि पनि एमाले सांसद्ले उठेर विराेध जनाइरहनुभयाे ।
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सदनमा बाेल्ने वातावरण बनाउन आग्रह गर्नुभयाे । तर एमाले सांसद्ले उठेर विराेध जनाइरहनुभयाे ।
एमालेकाे अवराेधपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विनियाेजन विधेयक शीर्षगत छलफलसम्बन्धी कार्यतालिका अनुसार छलफल हुन नसकेकाले पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गरिएकाे ब्यहाेरा जानकारी गराउनुभयाे । उहाँले छलफल हुन बाँकी शीर्षककाे छलफलका लागि असार २४ र छलफलमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीबाट जवाफका लागि असार २५ र २६ गतेकाे दिन निर्धारण गरिएकाे जानकारी गराउनुभयाे ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाकाे अर्काे बैठक आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने जानकारी दिनुभयाे ।
यसअघि बुधबार र बिहीबारकाे बैठक पनि एमालेले अवराेध गरेकाे थियाे । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रचण्डकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे हाे ।
राष्ट्र हित विपरित अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई नैतिक रुपमा पदमा बस्ने अधिकार नभएकाे भन्दै एमालेले उहाँकाे राजीनामा मागेकाे छ ।
