काठमाडाैं । आज बस्ने तय भएकाे प्रतिनिधि सभा बैठक सारिएकाे छ ।
दिउँसाे ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी तय गरिएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएसम्म सदन चल्न नदिने अडान लिएपछि बैठक बस्दै नबसी आइतबारका लागि सारिएकाे हाे ।
शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधि सभा बैठक चल्ने वातावरणा बनाउन दलहरुलाई आग्रह गर्नुभएकाे थियाे । उहाँले यसमा सहजीकरण गर्न आफू तयार रहेकाे बताउनुभएकाे थियाे ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रचण्डकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबारदेखि सदन अवरुद्ध गरिरहेकाे छ । राष्ट्र हित विपरीत अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई पदमा बस्नेत नैतिक अधिकार नभएकाे भन्दै एमालेले उहाँकाे राजीनामा मागेकाे हाे ।
