काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा नआएसम्म सदन चल्न नसक्ने स्पष्ट पार्नुभएकाे छ ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्ति राष्ट्रिय हित, देश र जनताको भावना विपरीत भएको बताउनुभयाे ।
प्रधानमन्त्रीले आफूले बोलेको कुराको स्पष्टिकरण दिनुको कुनै अर्थ नरहेकाले नैतिकताका आधारमा नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'प्रधानमन्त्रीका रुपमा उहाँले जस्ताे कुरा अभिव्यक्त गर्नुभयाे, त्याे कुरा राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय सम्मान, नेपाली जनताकाे विपरीत हाे, त्यसैले राजीनामा गर्नुपर्छ, ठाडै यस्ताे अभिव्यक्ति दिएपछि नैतिक आधारमा प्रधानमन्त्री पदमा बस्नु हुँदैन भन्ने हाम्राे अडान हाे ।'
प्रधानमन्त्रीले राजीनामा दिए सदन पर्सी नै खुल्ने पनि उहाँले प्रष्ट पार्नुभयाे ।
प्रधानमन्त्री पदमा प्रचण्ड बसेकाे भएर नभइ देशकाे प्रधानमन्त्रीले राष्ट्रहित विपरीत बाेलेकाले राजीनामा मागिएकाे सांसद् पन्तले प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे - 'त्यसाे भन्ने कुनै पनि व्यक्ति, प्रचण्डलाई बिर्सिदिनुस्, त्यस ठाउँमा बसेर अहिलेकाे संसद्भित्रका सदस्यहरुमध्ये जाे प्रधानमन्त्री भएर बाेलेकाे भएपनि त्याे कुरा गलत हाे, राजीनामा मागिन्थ्याे, त्यहाँ प्रचण्डजी हुनुहुन्छ भनेर राजीनामा मागिएकाे हाेइन ।'
