काठमाडौं । संघीय संसद्का दुवै सदनकाे बैठक आज बस्दैछ ।
राष्ट्रिय सभा बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेर ३१ मिनेटमा र प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्न लागेकाे हाे ।
आजकाे राष्ट्रिय सभा बैठकमा विनियाेजन विधेयक अन्तर्गत विभिन्न शीर्षकमा छलफलमा हुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । १६ वटा मन्त्रालयका लागि विनियाेजित शीर्षकमाथि आजकाे बैठकमा छलफल हुनेछ ।
प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची छ । सो विधेयक सोमबार बसेको राष्ट्रिय सभा बैठकले पारित गरेको थियो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकl, २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।कानुनमन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि छ ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गत मंगलबारदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध गरिरहेकाे छ । यस विषयमा रास्वपा र राप्रपा पनि एक ठाउँमा उभिएका छन् ।
एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै दुवै सदन चल्न दिएको छैन भने रास्वपा र राप्रपाले प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे सदनमा जवाफ दिन माग गरेका छन् ।
