काठमाडाैं । नेकपा एमालेकी सांसद् भगवति न्याैपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्काे धेरै अपमान गरेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा समय लिएर बाेल्दै सांसद् न्याैपानेले देशकाे प्रधानमन्त्री संसद्ले नबनाएर छिमेकी देशले बनाउँछ भन्ने सन्देश दिएर प्रचण्डले गम्भीर गल्ती गर्नुभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे संसद्लाई त तपाइँ (प्रधानमन्त्री प्रचण्ड) ले धेरै अपमान गर्नुभयाे, संविधान च्यात्नुभयाे, संसद्ले बनाउने हाेइन छिमेकी देशले प्रधानमन्त्री बनाउने हाे भनेर सन्देश दिनुभयाे, याे देशमा राजनीतिक हस्तक्षेप गर्नका लागि काेकाेलाई पत्र पठाउनुभएकाे छ पछि खुल्दै जाला ।'
प्रधानमन्त्रीले संसद्लाई जवाफ दिन आवश्यक नरहेकाे भन्दै सांसद् न्याैपानेले प्रधानमन्त्रीकाे बहिर्गमन नै सबै समस्याकाे समाधान भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'अब तपाइँले संसद्लाई जवाफ दिन आवश्यक छैन, किनभने तपाइँकाे कुरा प्रष्टसँग आइसकेकाे छ, मैले बाेलेकाे हाेइन भन्नुहुन्छ तर सस्वर आफैं बाेल्नुभएकाे छ, नैतिकता छैन प्रधानमन्त्रीज्यू, देश कानुन र नैतिकताले चल्छ, त्यसैले तपाइँ याे संसद्मा आएर जवाफ दिन लायक प्रधानमन्त्री हुनुहुन्न, प्रधानमन्त्रीको कुर्सीमा बस्न याेग्य पनि हुनुहुन्न, एउटा मात्रै समाधान भनेकाे तपाइँकाे बहिर्गमन हाे ।'
सांसद् न्याैपाने प्रधानमन्त्री प्रचण्ड ढाँट्न र नाटक गर्न निक्कै सिपालु रहेकाे समेत बताउनुभयाे । उहाँले भन्नुभयाे - 'उहाँ धेरै ढाट्नुहन्छ, देश र जनतालाई, उहाँ स्वाधिनताका विरुद्ध धेरै पटक उभिनुभएकाे छ, नेपालमा एमसीसी विरुद्ध बाेल्नुभयाे, तर एमसीसी बाेर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धता जनाएर यति समयसीमामा पास गर्छाैं भनेर पत्र लेख्नुभयाे, भनेकै समयसीमामा एमसीसी पारित गर्नुभयाे, कार्यकर्तालाई उफार्नुभयाे, उहाँ नाटक गर्न धेरै सिपालु हुनुहुन्छ, उहाँले स्वाधिनता, राष्ट्रियता र स्वाभिमानकाे विरुद्धमा पटक पटक धावा बाेल्नुभएकाे छ ।'
प्रचण्डले राष्ट्रहित विपरीत धेरै पटक गल्ती गर्नुभएकाे बताउँदै सांसद् न्याैपानेले भन्नुभयाे - 'भारतलाई सरकार बनाउन खुला रुपमा आमन्त्रण गर्नुभएकाे छ, यसअघि पनि याे दल भयाे भने भारतका निम्ति कम्फरटेबल सरकार हुन्छ भन्नुभयाे, उहाँले त्यस्ता गल्ती धेरै गर्नुभयाे ।'
केही समयअघि भारत भ्रमणमा गएका बेला पनि प्रधानमन्त्री प्रचण्डले धेरै राष्ट्रघाती काम गरेर आउनुभएकाे उहाँले बताउनुभयाे । ईपीजीकाे वातावरण बिग्रन्छ भनेर कुरा नउठाएकाे कुरा स्वयंम् प्रधानमन्त्रीले सदनमै बाेल्नुभएकाे सांसद् न्याैपानेले बताउनुभयाे ।
अखण्ड भारतकाे नक्सामा नेपालकाे भूमि समेटिकाे देख्दा प्रधानमन्त्रीलाई नदुखेकाे भन्दै उहाँले प्रधानमन्त्रीले यसबारे भारतसँग केही नभनी आउनुभएकाे बताउनुभयाे । फुकाेट-कर्णाली प्रधानमन्त्रीले भारतलाई सुम्पेर आउनुभएकाे बताउँदै सांसद् न्याैपानेले प्रश्न गर्नुभयाे - 'यस्ता राष्ट्रघाती काम गर्दा कम्तिमा प्रधानमन्त्रीज्यू पुर्खाहरुकाे इतिहास सम्झनुभएन ? बलभद्र कुँवर, भक्ति थापा र अमरसिंहहरुले गरेकाे याेगदान सम्झिनुभएन ? तपाइँले म दुर्लभ प्रधानमन्त्री भन्नुभएकाे छ, दुर्लभ प्रधानमन्त्रीले गर्ने यस्ता हर्कत, राष्ट्रियता र स्वाधिनता विरुद्धका हर्कत कतिपल्ट सहने ?'
