काठमाडौं । तीन दलका शीर्ष नेता बिच आज प्रतिनिधि सभा बैठक सुचारु गर्ने विषयमा सहमति भएको भए पनि अन्तिम समयमा आएर सूचना टाँस गरी बैठक स्थगित गरिएको छ ।
आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा अपराह्न ३ बजेसम्मका लागि सारिएको थियो । तर ३ बजेको बैठक पनि सभामुखले सूचना टाँस गरी सोमबार अपराह्न ३ बजेको लागि सारिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर एमालेले अवरुद्ध गर्दै आएको बैठक खोल्ने विषयमा आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच सहमति भएको थियो । प्रधानमन्त्रीले संसद् समक्ष माफी मागेर आफ्नो बोली फिर्ता लिने गरी एमाले बैठकको अवरोध खोल्न मञ्जुर भएको थियो ।
तर अन्तिम समयमा आएर प्रधानमन्त्रीकै आग्रहमा पुनः बैठक स्थगित गरिएको बुझिएको छ । प्रधानमन्त्री एमालेले भनेजस्तै गरी माफी माग्ने पक्षमा नदेखिएको कारण बैठक स्थगित गरिएको अनुमान गरिएको छ ।
