काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षीलाई देखाएर सरकारले नै मिटरब्याज सम्बन्धी विधेयक अघि नबढाएकाे बताउनुभएकाे छ ।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अन्तिम समयमा अध्यादेश सदनमा ल्याउने र प्रतिपक्षीलाई देखाएर सरकार पन्छन खोज्नु आपत्तिजनक रहेकाे बताउनुभयाे । मिटरब्याजसम्बन्धी कानुन लागू हुनुपर्छ भन्ने पक्षमा रास्वपा रहेकाे उहाँले प्रष्ट पार्नुभयाे ।
सरकारले मिटरब्याजसम्बन्धी विधेयक देखाउन मात्रै ल्याएकाे भन्दै सभापति लामिछानेले अन्तिम दिनमा छलफलमा ल्याउनुले नै त्यसकाे पुष्टि गर्ने बताउनुभयाे । 'सरकारले यस्ताे महत्वपूर्ण विषयलाई अन्तिम दिनमा ल्याएर के गर्न खाेजेकाे हाे ? देखाउन खाेजेकाे हाे कि ? संसद् त विभिन्न कारणले अवरुद्ध हुनसक्छ, अन्तिम दिनमा किन ल्यायाे ? याे अत्यन्त शंकास्पद छ, अन्तिम दिनमा ल्याएपछि जिराेमा जान सक्छ, त्यसलाई पनि प्रतिस्थापन विधेयक ल्याएर १५ दिनमा अगाडि लिएर जान सकिन्छ, मलाई लाग्छ याे देखाउन र जनप्रिय बन्नका लागि हामीले ल्यायाैं मिटरब्याज पीडितका लागि भन्ने ?, अनि प्रतिपक्षले पारित गर्न दिएन भन्ने ?'- उहाँले प्रश्न गर्नुभयाे ।
वैशाख १७ गतेको सिफारिस अनुसार जारी साे अध्यादेश संवैधानिक व्यवस्था अनुसार असार २० गते स्वत: निष्क्रिय भएकाे थियाे ।
तीन नेताको मुडमा संसद् चल्न नसक्ने बताउँदै उहाँले भन्नुभयाे - 'सदन कुनै नेताकाे आफ्नाे मुडमा चल्ने हाेइन, सदन तीन नेताकाे हाेइन, सदन प्रतिपक्षकाे हाे अझ बढी, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हाे, याे गलत भएकाे छ, यी कुराहरु हामी उठाउन चाहान्थ्याैं, तर आज पनि सदन राेकियाे ।'
कैयाैं महत्त्वपूर्ण कानुन बनाउने कामहरु बनाउनै बाँकी रहेकै बेला सदन अवरुद्ध हुनु गलत रहेकाे सभापति लामिछानेले बताउनुभयाे । सदन गलत तरिकाले चलिरहेकाे भन्दै उहाँले संसद्लाई संसद् जस्ताे बनाउनुपर्ने बताउनुभयाे । संसद् सरकार र ठूला भागबण्डाकाे विषय नभएकाे समेत सभापति लामिछानेले बताउनुभयाे । बाढी पीडित, किसानका कुरा, जनताका पीडा उठाउनुपर्ने बेला सदन नचल्नु गलत रहेकाे उहाँकाे भनाइ छ ।
कुनै साझा मुद्दामा एक ठाउँमा भएपनि सबै प्रतिपक्ष दललाई एउटै तुलाेमा राख्न नहुने भन्दै उहाँले रास्वपाकाे मुद्दा फरक खालकाे रहेकाे बताउनुभयाे । एमालेका सांसद्ले बाेलेपछि सभामुख देवराज घिमिरेले साेझै सत्तापक्षका सांसद्लाई माइक दिनुभएकाे र एमालेकाे आवाज नै सबै प्रतिपक्षीकाे आवाज हाे भन्ने भाष्य सृजना गर्न खाेजिएकाे भन्दै सभापति लामिछानेले आपत्ति जनाउनुभयाे ।
आफूहरु सदन सञ्चालन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा नभइ स्पष्टिकरण मागेकाे समेत उहाँले बताउनुभयाे । 'प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नुभयो, एउटा सार्वभाैम मुलुककाे प्रधानमन्त्रीले मलाई प्रधानमन्त्री बनाउन एक जना अमुक मानिस दिल्ली जानुभयो भन्नु गम्भीर विषय भयाे, त्यसकाे जवाफ दिनुपर्याे, जवाफ चित्त नबुझे त्यसअनुसार निर्णय हुनेछ'- सभापति लामिछानेले भन्नुभयाे ।
