काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रेम आलेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रश्न उठाउनुभएकाे छ ।
सिंहदबारमा आइतबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै सांसद् आलेले यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेलर देखाएको भनेपनि फिल्म अझै सुरु हुन नसकेको बताउनुभयाे ।
उहाँले फिल्म कहिले सुरु हुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभयाे । 'भुटानी शरणार्थी प्रकरणमा केही माछा त गए, प्रधानमन्त्रीज्यूले फिल्म देखाउँछु भन्नुभयो, यो ट्रेलर भन्नुभयो, फिल्म नै सुरु भएको छैन अहिलेसम्म, त्यो फिल्म कहिले लाग्ने हो ? भनेर सोध्नुपर्ने आवश्यकता मैले देख्दछु'- सांसद् आलेले भन्नुभयाे ।
संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन नभएकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । समितिका निर्देशनहरु कार्यान्वयन नहुने हो भने समितिको बैठक बसिरहनुको औचित्य नरहेको समेत सांसद् आलेले बताउनुभयाे । वाइडबडी, डेडिकेटेड तथा ट्रंक लाइन लगायत विषयमा समितिले निर्देशन दिएपनि कार्यान्वयन नभएकाे उहाँले बताउनुभयाे ।
समितिले उपसमिति बनाएर नै प्रतिवेदन तयार पारेपनि शीर्ष नेताहरु मिलेर त्यसलाई डस्टविनमा फाल्ने काम गरेको भन्दै सांसद् आलेले आपत्ति समेत जनाउनुभयाे । 'हामी यहाँ मेहनत गरी उपसमिति बनाएर छलफल गर्छौं, तर पछि गएर टाउकेहरु मिलेर यसलाई डस्टविनमा फाल्ने काम हुन्छ, हामीले डस्टविनमा फाल्ने की यसलाई कार्यान्वयन गर्ने ? जनताले यही प्रश्न गरिरहेका छन्'- उहाँले भन्नुभयाे ।
हरेक टेण्डर निकाल्दा कुन ठेकदारले ठेक्का पाउने र कति कमिशन बुझाउने भन्ने आधारमा त्यहि व्यक्तिले ठेक्का पाउने सेटिङ भाैतिक, शहरी, खानेपानी लगायतमा भएकाे भन्दै उहाँले लेखा समितिकाे पहलमा त्याे टेण्डर खारेज भएकाे बताउनुभयाे ।
कतिपयमा सरकार उदासिन रहेकाे भन्दै सांसद् आलेले प्रधानमन्त्री, अख्तियार प्रमुख, आईजीपी र न्यायालयकाे प्रतिनिधिलाई बाेलाएर समितिमा छलफल गर्नुपर्ने बताउनुभयाे ।
