काठमाडाैं । नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलबारे विस्तृत विवरण दिनुपर्ने बताउनुभएकाे छ ।
सिंहदबारमा आइतबार बसेको समितिकाे बैठकमा बाेल्दै सांसद् केसीले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा समितिलाई सबै विवरण दिनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ, एउटा बल्ल-बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने पर्यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ, हामी माननीय सदस्यले त्यो थाहा पाउनुपर्छ के भएको छ, के निर्णय भयो ।'
समितिलाई भ्रष्टाचार काण्डका फाइलकाे विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने सांसद् केसीले प्रष्ट पार्नुभयाे । अहिलेसम्म भएका निर्णय र कारबाहीको अवस्थाबारे समितिले अध्ययन गर्न पाउनुपर्ने उहाँले बताउनुभयाे । 'हामीले निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्न सक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक निकायले थन्क्यायो, यो संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन, निर्णय नगरी थन्क्याउनु गम्भीर कुरा हो, त्यो सबै आओस्'- सांसद् केसीले भन्नुभयाे ।
समितिले दिएका निर्देशनहरु कार्यान्वयन नहुनुको कारणबारे ग्म्भीर भएर सोच्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
