काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
दिउँसाे ३ बजे बस्ने प्रतिनिधिस सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने लगायत सम्भावित कार्यसूची छ ।
आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आज दिउँसाे ३ बजेका बजेसम्मलाई सूचना टाँसेर स्थगित गरिएकाे थियाे ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रचण्डकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले केही दिन यता सदन अवरुद्ध गर्दै आएकाे छ । राष्ट्रहित विपरीत अभिव्यक्ति दिने प्रधानमन्त्री प्रचण्डलाई पदमा बस्ने अधिकार नभएकाे भन्दै एमालेले उहाँकाे राजीनामा मागेकाे छ ।
सदन अवराेध खाेल्ने विषयमा आइतबार प्रमुख दलका शीर्ष नेता प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएकाे थियाे । साे छलफलमा प्रधानमन्त्रीले प्रचण्डले आफ्नाे अभिव्यक्तिप्रति सदनबाटै माफी माग्ने र स्पष्टिकरण दिने र एमालेले प्रधाननमन्त्रीकाे कुरा सुनेर अर्काे निर्णय गर्ने सहमति भएकाे थियाे ।
साेही सहमति अनुसार एमाले सांसद्हरु बैठक सुरु हुने समयमा संसद् भवन पुगिसकेका थिए । साेही बेला ३ बजेका लागि बाेलाइएकाे बैठक साेमबारका लागि सारिएकाे सूचना संसद् सचिवालयले जारी गर्याे । प्रधानमन्त्रीकाे आग्रहमा बैठक सारिएकाे बताइएकाे छ ।
सहमति कार्यान्वयन नभएपछि एमालेले भने राजीनामा माग्ने अडान कायमै राखेकाे छ । जसका कारण आजकाे बैठक पनि अवरुद्ध हुने सम्भावना छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधपछि राष्ट्रिय सभा बैठक साेमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे ।आजकाे बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय माथिको बजेट माथि छलफल हुनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाइएको बजेट माथि पनि छलफल हुने कार्यसूची छ ।
